
धादिङ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि धादिङ जिल्लाका विभिन्न खेलकुद आयोजनामा बजेट विनियोजन गरे पनि जिल्लाको समग्र खेल पूर्वाधार विकासका दृष्टिले बजेट पर्याप्त र सन्तुलित नभएको भन्दै खेलकर्मीहरूले प्रश्न उठाउन थालेका छन् ।
बजेटअनुसार नीलकण्ठ नगरपालिका–३ स्थित धादिङबेसी खेलमैदानका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी धुनीबेसीको कार्तिके–पाँगाउँ सुडेचौरका लागि १० लाख, त्रिपुरासुन्दरीको अर्गौता फुटबल चौरमा तारजाली निर्माणका लागि १० लाख तथा बेनीघाट रोराङ–३ स्थित तामेओडार खेलमैदानका लागि १० लाख रुपैयाँ छुट्याइएको छ ।
यस्तै बेनीघाट रोराङ–३ को मलेखु कभर्डहलका लागि १० लाख, नेत्रावती डबजोङको वाका खेलमैदानका लागि ५० लाख, सत्यदेवी आदिवासी युवा क्लब खेलमैदानका लागि १५ लाख र गंगाजमुना गाउँपालिकाको खिरबोट–कुवापानी खेलमैदानका लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यसका साथै धुनीबेसी–५ स्थित गौरीशंकर खेलमैदानका लागि १० लाख, बद्रिटार खुला व्यायामशालाका लागि १० लाख, गल्छी–३ को मुलाबारी भलिबल खेलमैदानका लागि १० लाख तथा धुनीबेसी–१ को पिपलचौर खेलमैदानका लागि १५ लाख रुपैयाँ छुट्याइएको छ ।
प्रतियोगितामुखी खेलकुदलाई समेत प्रोत्साहन गर्दै जय नेपाल स्पोर्ट्स क्लब, धादिङलाई तेक्वान्दो प्रतियोगिता आयोजना गर्न १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । तर जिल्लामा पछिल्ला वर्षहरूमा उल्लेखनीय उपलब्धि हासिल गर्दै आएको क्रिकेटका लागि आवश्यक भौतिक संरचना निर्माणका विषयमा कुनै ठोस योजना नदेखिएको भन्दै सरोकारवालाले असन्तुष्टि व्यक्त गरेका छन् ।
धादिङमा क्रिकेटप्रति युवाको आकर्षण बढ्दो छ भने जिल्ला र प्रदेशस्तरीय प्रतियोगितामा खेलाडीहरूले राम्रो प्रदर्शन गर्दै आएका छन् । त्यसका बाबजुद अभ्यासका लागि मापदण्डअनुसारको मैदान, पिच तथा अन्य आवश्यक पूर्वाधार निर्माणमा बजेट नपर्नुले क्रिकेटको दीर्घकालीन विकास प्रभावित हुने चिन्ता व्यक्त गरिएको छ ।
त्यस्तै, जिल्लाका धेरै फुटबल खेलमैदानका लागि साना–साना रकम विनियोजन गरिए पनि मैदानको स्तरोन्नति, दीर्घकालीन संरक्षण तथा गुणस्तरीय पूर्वाधार निर्माणतर्फ पर्याप्त ध्यान नदिइएको देखिन्छ । कतिपय स्थानमा तारजाली वा सामान्य मर्मतका लागि बजेट छुट्याइए पनि खेलाडी र स्थानीय क्लबहरूले अपेक्षा गरेअनुसार आधुनिक र व्यवस्थित खेलमैदान निर्माणको स्पष्ट योजना देखिँदैन ।
खेलकर्मीहरूको भनाइमा, खेलकुदको दिगो विकासका लागि साना रकम धेरै स्थानमा बाँड्नेभन्दा प्राथमिकताका आधारमा केही रणनीतिक पूर्वाधारलाई पूर्ण रूपमा विकास गर्नु आवश्यक छ । विशेषगरी क्रिकेट र फुटबलजस्ता लोकप्रिय खेलका लागि गुणस्तरीय मैदान र प्रशिक्षण पूर्वाधार निर्माणमा प्रदेश सरकारले दीर्घकालीन दृष्टिकोण अपनाउनुपर्ने उनीहरूको माग छ ।
बजेटले केही स्थानीय खेल पूर्वाधारलाई सम्बोधन गरे पनि धादिङको समग्र खेलकुद विकासको आवश्यकता र सम्भावनालाई पूर्ण रूपमा सम्बोधन गर्न नसकेको टिप्पणी हुन थालेको छ ।
