
धादिङ । नेपाल सुनचाँदी कला व्यवसायी संघको १०औँ राष्ट्रिय अधिवेशनबाट धादिङका तीन जना व्यवसायी केन्द्रीय नेतृत्वमा निर्विरोध निर्वाचित भएका छन् ।
अधिवेशनबाट धादिङबेसीको बीचबजारमा आरके सुनचाँदी पसल सञ्चालन गर्दै आएका सुदिप रसाईली केन्द्रीय सचिव पदमा निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी सानुबाबु रसाईली प्रथम उपाध्यक्ष तथा रमेश गुरुङ केन्द्रीय कार्यसमिति सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् ।
सुनचाँदी व्यवसाय क्षेत्रमा लामो समयदेखि सक्रिय रहेका सुदिप रसाईली धादिङका परिचित व्यवसायी तथा सामाजिक व्यक्तित्व हुन् । उनी रोटरी क्लब अफ धादिङ का पूर्व अध्यक्ष तथा सुनचाँदी कला व्यवसायी संघ धादिङ का पूर्व अध्यक्षसमेत रहिसकेका छन् ।
धादिङबाट एकैपटक तीन जना व्यवसायी संघको केन्द्रीय नेतृत्वमा चयन हुनु जिल्लाका सुनचाँदी व्यवसायीहरूका लागि गौरवको विषय बनेको छ । नवनिर्वाचित पदाधिकारीहरूले व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायको आधुनिकीकरण तथा संगठनलाई थप सशक्त बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ ।
अधिवेशनबाट प्राप्त जिम्मेवारीलाई व्यवसायीहरूको विश्वासको रूपमा लिँदै सुनचाँदी व्यवसाय क्षेत्रको विकास र संस्थागत सुदृढीकरणका लागि सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता नवनिर्वाचित नेतृत्वले जनाएको छ ।
