
धादिङ । नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) धादिङ शाखाको नयाँ नेतृत्व चयन भएको छ। धादिङमा सम्पन्न जिल्ला अधिवेशनले दिपेन्द्र रिजालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
अधिवेशनबाट उपाध्यक्षमा राम प्रसाद अर्याल, सचिवमा मोदनाथ कोइराला, सह–सचिवमा जयराम रूपाखेती तथा कोषाध्यक्षमा नानीता सापकोटा निर्वाचित भएका छन् ।
त्यसैगरी कार्यसमितिका सदस्यहरूमा कृष्ण प्रसाद रेग्मी, ध्रुव राज घिमिरे, इश्वरी प्रसाद बसौला, लोकनाथ सुवेदी, सावित्री घिमिरे, विष्णु प्रसाद नेपाली, कुल बहादुर पौडेल र बुद्धिमान श्रेष्ठ चयन भएका छन् ।
नवनिर्वाचित कार्यसमितिले जिल्लामा अंग्रेजी भाषा शिक्षणलाई थप प्रभावकारी, गुणस्तरीय तथा प्रविधिमैत्री बनाउन विभिन्न तालिम, कार्यशाला, शैक्षिक अन्तरक्रिया तथा प्राज्ञिक गतिविधिहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।
अधिवेशनमा जिल्लाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत अंग्रेजी विषयका शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागी शिक्षकहरूले अंग्रेजी भाषा शिक्षणको गुणस्तर अभिवृद्धि, शिक्षकहरूको व्यावसायिक क्षमता विकास तथा अनुभव आदानप्रदानलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिएका थिए ।
नेल्टा अंग्रेजी भाषा शिक्षण तथा सिकाइको गुणस्तर सुधारका लागि कार्यरत राष्ट्रिय संस्था हो । धादिङ शाखाले विगतदेखि नै जिल्लाका शिक्षकहरूको क्षमता अभिवृद्धि, तालिम तथा शैक्षिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ । नवगठित कार्यसमितिले आगामी कार्यकालमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने विश्वास व्यक्त गरिएको छ ।
