
धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङको प्रथम जिल्ला अधिवेशन आज धादिङबेसीमा हुँदैछ । अधिवेशनबाट नयाँ जिल्ला कार्यसमिति चयन गरिने रास्वपाले जनाएको छ ।
पार्टीले सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयास गरे पनि सभापतिसहित केही पदमा एकभन्दा बढी आकांक्षी देखिएकाले निर्वाचनको सम्भावना बढेको छ । सहमति जुट्न नसके निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयन गर्ने तयारी गरिएको रास्वपा धादिङले जनाएको छ ।
पार्टी स्रोतका अनुसार जिल्ला सभापति पदका लागि हालका सभापति सूर्यमणि पाठक, डा. कृष्णमान शाक्य, राजन अर्याल, रामकुमार थपलिया र दिलीप उप्रेती आकांक्षी रहेका छन् । नेतृत्व चयनका लागि अन्तिम प्रयास जारी रहे पनि सर्वसम्मत हुने सम्भावना न्यून रहेको बताइएको छ ।
यसअघि पालिका अधिवेशनहरूमा समेत निर्वाचनमार्फत नेतृत्व चयन गरेको रास्वपाले जिल्ला तहमा पनि आवश्यकता परे मतदान प्रक्रियाबाट पदाधिकारी तथा कार्यसमिति चयन गर्ने तयारी गरेको छ ।
अधिवेशन उद्घाटनका लागि संघीय सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्रीको उपस्थिति रहने कार्यक्रम तय गरिएको जनाइएको छ । अधिवेशनले आगामी कार्यदिशा, संगठन विस्तार तथा जिल्लामा पार्टीको गतिविधिलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गर्ने अपेक्षा गरिएको छ ।
रास्वपा धादिङको पहिलो जिल्ला अधिवेशनलाई जिल्लामा पार्टीको संगठनात्मक संरचना सुदृढ गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
