नेत्रावती डबजोङको चेतावनी : सहकारी ऋण नतिरे सेवा सुविधा रोकिने

Avatar photo
Dhadingpost
जेष्ठ ७, २०८३

धादिङ । नेत्रावती डबजोङ गाउँपालिकाले सहकारी संस्थाबाट ऋण लिएर साँवा–व्याज भुक्तानी नगर्ने ऋणीहरूलाई सार्वजनिक सेवा सुविधामा समेत रोक लगाउन सकिने चेतावनी दिएको छ ।

गाउँपालिकाको कार्यालयले सूचना जारी गर्दै आफ्नो नियमन क्षेत्रभित्र रहेका सहकारी संस्थाबाट ऋण लिएका केही सदस्यहरूले ऋणको साँवा–व्याज नतिरेको तथा सम्पर्कमा समेत नआएको गुनासो प्राप्त भएको जनाएको छ ।

सूचनामा सहकारी संस्थाबाट लिएको ऋण समयमै बुझाउने कानुनी दायित्व सम्बन्धित ऋणी सदस्यकै हुने उल्लेख गरिएको छ । सहकारी ऐन, २०७४ को दफा ७८, सहकारी नियमावली, २०७५ को नियम ३० तथा नेत्रावती डबजोङ गाउँपालिकाको सहकारी ऐन, २०७५ को दफा ५८ बमोजिम सहकारी संस्थाले ऋण असुल गर्न सक्ने व्यवस्था रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले सम्पूर्ण ऋणी सदस्यलाई समयमै ऋण भुक्तानी गर्न आग्रह गर्दै अटेर गरेमा सहकारी संस्थाबाट ऋणीहरूको विवरण माग गरी सार्वजनिक सेवा सुविधा प्राप्तिमा समेत रोक लगाउन सकिने चेतावनी दिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत सन्देश प्रसाद जोशीद्वारा हस्ताक्षरित उक्त सूचना २०८३ जेठ ७ गते प्रकाशित गरिएको हो ।