म्यागङ अध्यक्ष कप भलिबल : धादिङको खनियाबास गाउँपालिका विजेता

Avatar photo
Dhadingpost
बैशाख १३, २०८३

धादिङ । चौथो बागमती प्रदेश अन्तरपालिकास्तरीय म्यागङ गाउँपालिका अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिताको उपाधि धादिङको खनियाबास गाउँपालिकाले जितेको छ ।

प्रतियोगिताको फाइनलमा धादिङकै दुई पालिका खनियाबास र सिद्धलेक गाउँपालिका आमनेसामने भएका थिए । रोमाञ्चक प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै खनियाबासले सिद्धलेकलाई पराजित गर्दै उपाधि हात पारेको हो । सिद्धलेक गाउँपालिका उपविजेता बनेको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमशः ३ लाख ३४ हजार ३३३ रुपैयाँ, २ लाख २३ हजार ३३३ रुपैयाँ र १ लाख १२ हजार २२२ रुपैयाँ नगदसहित शिल्ड, तक्मा र प्रमाणपत्र प्रदान गरिएको छ । साथै सान्त्वना स्थान हासिल गर्ने टोलीलाई ५६ हजार ६६६ रुपैयाँ प्रदान गरिएको आयोजकले जनाएको छ ।

फाइनल खेलको अवसरमा खेलाडीहरूको मनोबल उच्च बनाउन धादिङबाट खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ, उपाध्यक्ष सेक्केमान तामाङ तथा सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा प्रतियोगिता स्थलमै उपस्थित भएका थिए ।