धुनीबेसीका प्रदीप पाण्डेको उपचारका लागि सहयोगी बढ्दै

Avatar photo
Dhadingpost
बैशाख ६, २०८३

धादिङ । धुनीबेसी नगरपालिका–३, रमाइलो चौर निवासी प्रदीप पाण्डे जन्मजात मुटुरोगबाट पीडित रहेका छन् । पछिल्लो स्वास्थ्य परीक्षणमा उनको मुटुको भित्री संरचनामा गम्भीर समस्या देखिएको चिकित्सकहरूले बताएका छन् ।

रिपोर्ट अनुसार प्रदीपको मुटुको तल्लो भागमा २८ एमएमको प्वाल (VSD) तथा माथिल्लो भागमा १६ एमएमको प्वाल (ASD) देखिएको छ । साथै, फोक्सोतर्फ जाने रक्तनलीमा अत्यधिक दबाब (Severe Pulmonary Hypertension) पुगेको कारण उनको स्वास्थ्य अवस्था जटिल र जोखिमपूर्ण बन्दै गएको चिकित्सकहरूको भनाइ छ ।

उपचारका लागि ठूलो आर्थिक खर्च आवश्यक पर्ने भएपछि उनले सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेका थिए । त्यसपछि विभिन्न स्थानबाट सहयोगीहरू थपिँदै गएका छन् । प्राप्त सहयोग रकम तथा सहयोगदाताहरूको विवरण उनले आफ्नै फेसबुकमार्फत सार्वजनिक गर्दै आएका छन् ।

उनका अनुसार सार्वजनिक गरिएका सहयोगीहरू प्रतीकात्मक मात्र हुन्, अझ धेरै सहयोगीहरू जोडिँदै गइरहेका छन् । उपचारमा सहयोग पुर्‍याउन इच्छुक महानुभावहरूले सिद्घार्थ बैंकमा रहेको खाता नम्बर 01920063070 मार्फत सहयोग गर्न सक्नेछन् । साथै, उनीसँग प्रत्यक्ष रूपमा फेसबुकमार्फत पनि सम्पर्क गर्न सकिनेछ ।

गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेका प्रदीपको उपचारमा सहयोग पुर्‍याई मानवताको उदाहरण प्रस्तुत गर्न सबैमा अपिल गरिएको छ ।