
धादिङ । धादिङ क्रिकेट लिग अन्तर्गत दोस्रो दिनको पहिलो खेलमा गजुरी गाउँपालिकाले नीलकण्ठ नगरपालिकालाई ११ रनले पराजित गरेको छ ।
प्रतियोगिताको तेस्रो खेलमा पहिले ब्याटिङ गरेको गजुरीले १९.२ ओभरमा सबै विकेट गुमाउँदै ११३ रन बनायो । टोलीका लागि सुगम भण्डारीले उत्कृष्ट प्रदर्शन गर्दै ५७ बलमा ४३ रन बनाए । उनले ६ चौका र १ छक्का प्रहार गर्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याए भने अन्य ब्याट्सम्यानले ठूलो योगदान दिन सकेनन् ।
नीलकण्ठका तर्फबाट राहुल रोक्काले ३ विकेट लिएर प्रभावशाली बलिङ गरे । केशव बि.के. र पुझन सुवेदीले २–२ विकेट लिँदै गजुरीलाई दबाबमा राख्ने प्रयास गरेका थिए ।
११४ रनको लक्ष्य पछ्याएको नीलकण्ठ सुरुवातदेखि नै दबाबमा देखियो । नियमित अन्तरालमा विकेट गुमाउँदा टोली १७.३ ओभरमा १०२ रनमै समेटियो । कुनै पनि ब्याट्सम्यानले ठोस इनिङ खेल्न नसक्दा लक्ष्य नजिक पुगेर पनि जित हात पार्न सकेन ।
गजुरीका बलर सन्देश सापकोटाले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए । सक्षम खरेल र सुवास परियारले २–२ विकेट लिँदै टोलीको जितमा महत्वपूर्ण भूमिका खेले ।
यस जितसँगै गजुरी गाउँपालिकाले प्रतियोगितामा महत्वपूर्ण अंक जोडेको छ भने नीलकण्ठले राम्रो सुरुवात गर्न नसक्दा हार बेहोर्नुपरेको छ । प्रतिस्पर्धात्मक खेलको अन्त्यमा गजुरीले संयमित प्रदर्शन गर्दै महत्वपूर्ण जित दर्ता गरेको हो ।

















