गजुरी गाउँपालिकामा कक्षा ८ को नतिजा सार्वजनिक, समग्र उत्तीर्ण दर ७१.१० प्रतिशत

Avatar photo
Dhadingpost
चैत्र २६, २०८२

धादिङ । धादिङको गजुरी गाउँपालिकाले पालिका स्तरीय (कक्षा ८) को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

गाउँपालिकाको शिक्षा शाखाका अनुसार प्रकाशित नतिजा अनुसार कुल ४२९ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये ३०५ जना उत्तीर्ण भएका छन् भने १२४ जना अनुत्तीर्ण भएका छन् । यससँगै समग्र उत्तीर्ण प्रतिशत ७१.१०% रहेको छ ।

नतिजा अनुसार नीजि विद्यालय मुनाल एकेडेमी र पाबिल हिमाल एकेडेमीले शतप्रतिशत नतिजा ल्याउँदै उत्कृष्ट प्रदर्शन गरेका छन् । यस्तै, डोलभन्ज्यङ मावि (९२.१६%), थुम्कीडाँडा मावले (९१.६७%) लगायतका विद्यालयले पनि राम्रो नतिजा ल्याएका छन् ।

यद्यपि केही विद्यालयहरूको नतिजा कमजोर देखिएको छ । विशेषगरी पाबिल अंग्रेजी माविको नतिजा शून्य प्रतिशत रहेको छ, जसले शैक्षिक गुणस्तरमा सुधार आवश्यक देखिएको संकेत गर्छ ।

गाउँपालिकाले नतिजासम्बन्धी विस्तृत विवरण सम्बन्धित विद्यालयबाट प्राप्त गर्न सकिने जनाएको छ । साथै, नतिजामा कुनै त्रुटि भेटिएमा सम्बन्धित निकायमा जानकारी गराउन समेत आग्रह गरिएको छ ।