
धादिङ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट धादिङ जिल्लासँग सम्बन्धित आठ जना सांसद बन्न सफल भएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ जना, नेकपा (एमाले) बाट २ जना तथा नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १–१ जना गरी धादिङका आठ जना प्रतिनिधिसभा सदस्य बन्ने भएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याल काठमाडौं–९ बाट निर्वाचित भएका छन् । त्यस्तै आशिका तामाङ धादिङ–१ बाट र बोधनारायण श्रेष्ठ धादिङ–२ बाट प्रत्यक्ष निर्वाचन जित्दै प्रतिनिधिसभा सदस्य बनेका हुन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सहकोषाध्यक्ष बसुमाया तामाङ समानुपातिकतर्फबाट सांसद बन्न सफल भएको रास्वपा स्रोतले जनाएको छ । यद्यपि रास्वपाले निर्वाचन आयोगमा सांसदका लागि पेस गरेको समानुपातिक सूची भने सार्वजनिक गरिसकेको छैन ।
नेकपा (एमाले) बाट डा. पुष्प कडेल र गंगादेवी श्रेष्ठ पनि समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य बन्न सफल भएका छन् ।
त्यसैगरी नेपाली कांग्रेसबाट उर्मिला थपलिया समानुपातिकतर्फबाट सांसद बन्ने भएकी कांग्रेस स्रोतले जनाएको छ। कांग्रेसले पनि निर्वाचन आयोगमा सिफारिस गरेको नाम सार्वजनिक गरेको छैन ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकतर्फ सांसदका लागि धादिङकी सरस्वती लामालाई समेत निर्वाचन आयोगमा सिफारिस गरेको छ ।
यससँगै धादिङ जिल्लासँग सम्बन्धित आठ जना प्रतिनिधिसभा सदस्य संघीय संसद्मा पुग्ने भएका छन् ।
