दोलखा मालुमा मतपत्रको ठेली नै लुटेर भागेका कांग्रेस र नेकपाका कार्यकर्तालाई मुद्दा चलाउने तयारी

Avatar photo
Dhadingpost
फाल्गुन २१, २०८२

काठमाडौं । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालु मतदान केन्द्रबाट मतपत्रको ठेली लुटेर भाग्ने प्रयास गर्ने व्यक्तिमाथि मुद्दा चलाउने तयारी गरिएको छ ।

बुथ कब्जा गर्ने उद्देश्यले मतपत्रको ठेली बोकेर हिँडेको आरोपमा नेपाली कांग्रेसका वडा सदस्य यज्ञबहादुर श्रेष्ठ, तामाकोशी गाउँपालिकाका तरुण दल अध्यक्ष अनिल श्रेष्ठ तथा नेकपाका नेता अर्जुन योगी माथि मुद्दा चलाउने तयारी भएको हो ।

तीन जनामाथि मुद्दा चलाइने तयारी भइरहेका बेला नियन्त्रणमा रहेका अन्य चार जनालाई भने सोधपुछपछि छाड्ने तयारी गरिएको बताइएको छ । यद्यपि नेपाली कांग्रेस र नेकपाले सबैलाई बिनाशर्त रिहा गर्न माग गरेका छन् ।

घटनापछि स्थगित मतदानका लागि अर्को मिति तोक्न मतदान अधिकृतले जिल्ला निर्वाचन कार्यालयमा सिफारिस गर्ने निर्णय गरेका छन् । कांग्रेस र नेकपाले बुथ कब्जा गर्न खोजेपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी ले विरोध जनाएका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायरसमेत गरेको थियो ।