खनियाबास–२ अक्थलीका मतदाता रोक्न, माथिल्लो डुम्रेमा ढुंगा खसालेर बाटो अवरुद्ध

Avatar photo
Dhadingpost
फाल्गुन २१, २०८२

धादिङ । धादिङको खनियाबास गाउँपालिका–२ अक्थलीका स्थानीय मतदातालाई मतदानमा जानबाट रोक्ने उद्देश्यले माथिल्लो डुम्रे क्षेत्रमा भिरबाट ढुंगा खसालेर सडक अवरुद्ध गरिएको छ ।

स्थानीयका अनुसार अक्थलीभन्दा मुनि हाइड्रो आयोजनाले खनेको सडक खण्डमा करिब २०० भन्दा बढी मतदाता रोकिएका छन् । उनीहरू बेन्दीदेवी मतदान केन्द्रमा मतदान गर्न जाँदै गर्दा निरन्तर माथिबाट ढुङ्गा हानेर बाटो अवरुद्ध गरिएको हो ।

भिरको बाटो भएकाले माथिबाट ढुंगा हानिएको बताइए पनि कसले र किन अवरोध गरेको हो भन्नेबारे यकिन हुन सकेको छैन।

घटनास्थलबाट दिल तामाङले उद्धारका लागि नेपाली सेना आउने जानकारी पाएको बताएका छन् । अवरुद्ध सडक खुलाउने र मतदातालाई सुरक्षित रूपमा मतदान केन्द्रसम्म पुर्‍याउने प्रयास भइरहेको जनाइएको छ ।

घटनाबारे स्थानीय प्रशासन र सुरक्षा निकायले थप विवरण संकलन गरिरहेको बताएका छन् ।