
काठमाडौं । देशभर पछिल्लो केही दिनदेखि मौसम बदली भई वर्षा तथा हिमपात भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण विभिन्न स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको हो।
विभागका अनुसार हिजो सिन्धुपाल्चोक, भक्तपुर, काठमाडौं, नुवाकोट, चितवन, स्याङ्जा र डोटीका केही क्षेत्रमा वर्षा भएको थियो भने विभिन्न उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत भएको छ।
विभागले आज र भोलि पनि देशका विभिन्न स्थानमा बदली रही वर्षा तथा हिमपात हुने सम्भावना रहेको जनाएको छ। पश्चिमी क्षेत्रको तुलनामा पूर्वी क्षेत्रमा बढी बदली हुने अनुमान गरिएको छ।
आज बिहान तराईका केही स्थानमा हुस्सु लागेको छ। आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश का पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ।
मौसम प्रतिकूल हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।



