
धादिङ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी ले आसन्न फागुन २१ को उपनिर्वाचन लक्षित कार्यक्रमअन्तर्गत आज धादिङका विभिन्न स्थानमा मतदाता भेटघाट कार्यक्रम आयोजना गरेको छ।
पार्टी सभापति रवि लामिछाने र उपसभापति डोल प्रसाद अर्याल (डीपी) ले आज सल्यानटार, धादिङबेसी र गल्छीमा मतदातासँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ। निर्धारित कार्यतालिका अनुसार लामिछानेको टोली सल्यानटारमा दिउँसो १२ः४५ बजे, धादिङबेसीमा २ः१७ बजे र गल्छीमा ३ः१५ बजे पुग्ने बताइएको छ।
कार्यक्रम सम्पन्न गरेपछि उनीहरू नुवाकोट र रसुवामा आयोजना हुने चुनावी कार्यक्रममा सहभागी हुने छन्।
धादिङ क्षेत्र नं. १ मा रास्वपाबाट आशिका तामाङ र क्षेत्र नं. २ मा बोधनारायण श्रेष्ठ उम्मेदवार रहेका छन्। पार्टी स्रोतका अनुसार दुवै क्षेत्रमा चुनावी माहोल उत्साहजनक बन्दै गएको बताइएको छ।




