धादिङ–१ मा राजेन्द्र पाण्डेको घरदैलो अभियान सुरु

Avatar photo
Dhadingpost
फाल्गुन ४, २०८२

धादिङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कम्युनिष्ट पार्टीले धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा सोमबारदेखि घरदैलो अभियान सुरु गरेको छ।

निर्वाचन परिचालन समितिका अनुसार गजुरी गाउँपालिका वडा नम्बर ६ अन्तर्गत पर्ने बेल्खुबाट बिहान अभियानको औपचारिक सुरुवात गरिएको हो। टोलीले बेल्खु तथा आदमघाट बजार क्षेत्रमा पुगेर मतदाताहरूसँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्ने कार्यक्रम रहेको छ।

समितिका अनुसार बिहान ९ बजेदेखि बेल्खु र आदमघाट क्षेत्रमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम सञ्चालन भइरहेको छ भने दिउँसो गजुरी गाउँपालिका वडा नम्बर ४ को गैरीगाउँमा पनि सोही कार्यक्रम तय गरिएको छ।

घरदैलो अभियानमा प्रतिनिधिसभा सदस्य उम्मेदवार राजेन्द्र पाण्डेसँगै बागमती प्रदेशका पूर्व मुख्यमन्त्री एवं सांसद शालिकराम जम्कट्टेल लगायत पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको छ।

अभियानका क्रममा नेताहरूले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या, गुनासा तथा आवश्यकताबारे जानकारी लिँदै पार्टीका एजेन्डा र विकास योजनाबारे जानकारी गराइरहेका छन्।

नेपाली कम्युनिष्ट पार्टीले घरदैलो अभियानलाई चुनावी प्रचारको मुख्य माध्यम बनाउँदै जनतासँग प्रत्यक्ष जोडिने रणनीति अपनाएको जनाएको छ।