धादिङका दुवै क्षेत्र, जितको खोजीमा रास्वपा

Avatar photo
Dhadingpost
फाल्गुन ३, २०८२

धादिङ । धादिङका दुवै निर्वाचन क्षेत्रमा जित निकाल्ने लक्ष्यसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरू र उम्मेदवारहरू अहिले टोल–टोल र घर–घर पुगेर सक्रिय चुनावी अभियानमा जुटिरहेका छन्।

धादिङ क्षेत्र नम्बर १ मा रास्वपाकी उम्मेदवार आशिका तामाङ घण्टी चिन्हसहित चुनावी मैदानमा छिन्। यस क्षेत्रमा उनीसँगै पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डे, नेकपा एमालेका भुमी त्रिपाठी लगायतका बलिया प्रतिस्पर्धी र कांग्रेसबाट रुचाईएका युवा उम्मेदवार कृष्ण रिजाल यस क्षेत्रका मुख्य उम्मेदवार छन् । पाण्डे यसअघि कांग्रेस–माओवादी गठबन्धनको समर्थनमा विजयी हुँदै आएका छन् भने एमाले र कांग्रेसका संगठनात्मक आधार पनि यो क्षेत्रमा मजबुत मानिन्छ ।

गत प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रमा रास्वपाका हिमेश पन्त ले १२,४९४ मत प्राप्त गर्दा कांग्रेस–माओवादी गठबन्धनका तर्फबाट राजेन्द्र पाण्डेले ३६,०१८ र एमालेका भूमि त्रिपाठीले २७,९९७ मत ल्याएका थिए। यसपटक भने आशिका तामाङको आक्रामक घरदैलो र मतदाता भेटघाटले रास्वपाको स्थिति कति सुदृढ बनाउँछ भन्ने कुरा चासोका साथ हेरिएको छ।

यता धादिङ क्षेत्र नम्बर २ मा सामाजिक क्षेत्रमा लामो समयदेखि क्रियाशील बोधनारायण श्रेष्ठ रास्वपाका उम्मेदवारका रूपमा चुनावी मैदानमा छन्। उनका प्रतिस्पर्धीका रूपमा कांग्रेसका रमेश धमला, एमालेका धनबहादुर घले र नेकपाका रामबहादुर भण्डारी रहेका छन्, जसले आ–आफ्नो संगठनको बलमा जितको दाबी गरिरहेका छन्।

गत चुनावमा यस क्षेत्रमा माओवादीको साथमा कांग्रेसका रामनाथ अधिकारीले ३४,७३६ मत प्राप्त गर्दै विजय हासिल गर्दा एमालेका खेमले २४,१९० मत ल्याएका थिए। रास्वपाकी उम्मेदवार बसुमायाँ तामाङ ले भने ५,५६९ मतमै सीमित रहनुपरेको थियो। तर यसपटक बोदनारायण श्रेष्ठको सक्रियता र जनसम्पर्कले रास्वपाको अवस्था अघिल्लोपटकभन्दा धेरै बलियो भएको स्थानीय विश्लेषकहरूको बुझाइ छ।

समग्रमा हेर्दा धादिङका दुवै क्षेत्रमा रास्वपा यसपटक कडा प्रतिस्पर्धीका रूपमा उभिएको देखिन्छ। मतदातामाझ बढ्दो पहुँच र नयाँ राजनीतिक विकल्पको आकांक्षाले रास्वपाले कस्तो चुनावी परिणाम निकाल्छ भन्ने कुरा अब मतपेटिकाबाटै स्पष्ट हुने छ।