
धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिद्धलेक गाउँपालिकाले आदमटारमा वडा सम्पर्क कार्यालय उद्घाटन गरेको छ।
प्रतिनिधिसभा प्रत्यक्ष उम्मेदवार आशिका तामाङ र समानुपातिक उम्मेदवार डा. राम लामाले संयुक्त रूपमा उक्त कार्यालय उद्घाटन गरेका हुन्।
नेकपाका राजेन्द्र पाण्डे र नेकपा एमालेका भूमि त्रिपाठी जस्ता हेभीवेट उम्मेदवारसँग प्रतिस्पर्धामा रहेकी आशिका तामाङले जनसम्पर्क अभियानलाई तीव्र बनाएकी छन्। कार्यालय उद्घाटनसँगै उनले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै जनमत सङ्कलनमा केन्द्रित रहेको बताइएको छ।
कार्यालय उद्घाटनका अवसरमा १३ केजीको घण्टी बजाएर रास्वपा टोलीले अभियानको सुरुआत गरेको थियो। उद्घाटनपछि आशिका तामाङ नेतृत्वको टोलीले आजै सिद्धलेक गाउँपालिकाका अमिलिछाप, भलडाँडा, भैसेपोखरी, चामडाँडा, कुम्पुर भञ्ज्याङ, इर्जु हटिया खानी र गजुरीटार क्षेत्रमा पुगेर मतदाता भेटघाट गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।
रास्वपाले स्थानीय तहसम्म संगठन विस्तार गर्दै जनतासँग प्रत्यक्ष संवादमार्फत आफ्नो एजेन्डा प्रस्तुत गरिरहेको जनाएको छ।
