
धादिङ । नेकपा (एमाले) धादिङ–काठमाडौं सम्पर्क मञ्चले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई केन्द्रित गरी विशेष कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम केन्द्रिय लेखा आयोगका संयोजक प्रा. पुष्प कडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रा. कडेलले धादिङका दुवै निर्वाचन क्षेत्रमा नेकपा एमालेको जित सुनिश्चित हुने दाबी गरे । बाहिर चलेका हल्ला र भ्रमले एमालेको जनाधारमा कुनै असर नपर्ने उल्लेख गर्दै उनले भने,
“महाधिवेशनपछि एमाले अझै सुदृढ र एकताबद्ध भएको छ । तलसम्मका कमिटीहरू सक्रिय छन् । विचार र सिद्धान्त नभएकाहरूले फैलाउने भ्रमले एमालेलाई कुनै असर गर्दैन ।”
उनले पार्टी फेरिरहने-पार्टीको नाम फेरिरहने वा अवसरवादमा लागेकाहरूले फैलाएको प्रचारप्रति कार्यकर्ताहरू सचेत रहनुपर्नेमा पनि जोड दिए ।

सम्पर्क मञ्चका अध्यक्ष कमल थापा मगरका अनुसार कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्यहरू खेम लोहनी र क्रान्ति बुर्लाकोटी, श्याम बस्नेत, कल्पना थापा धादिङका उम्मेदवार भूमि त्रिपाठी, लगायतका नेताहरूको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा सहभागी नेताहरूले काठमाडौंमा रहेका धादिङेली एमाले कार्यकर्तालाई संगठन सुदृढीकरण र चुनावी अभियानमा सक्रिय भूमिका खेल्न आग्रह गरेका थिए ।

