एडभान्स एकेडेमीमा ‘बुक फ्री फ्राइडे’ अन्तर्गत विज्ञान प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

Avatar photo
Dhadingpost
माघ २३, २०८२

धादिङबेसी। विद्यार्थीको सिकाइलाई व्यवहारिक, सिर्जनात्मक र रमाइलो बनाउने उद्देश्यका साथ एडभान्स एकेडेमीमा ‘बुक फ्री फ्राइडे’ कार्यक्रम अन्तर्गत विज्ञान प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

विद्यालयको विज्ञान विभागद्वारा आयोजना गरिएको विज्ञान प्रदर्शनीमा विद्यार्थीहरूले आफ्नै मेहनत र सिर्जनशीलताबाट तयार पारेका विभिन्न विज्ञान सामग्री तथा मोडेलहरू प्रदर्शनमा राखिएका थिए। प्रदर्शनीमा प्रस्तुत सामग्रीहरूले विद्यार्थीहरूको अनुसन्धान क्षमता, नवप्रवर्तनशील सोच र विज्ञानप्रतिको रुचिलाई प्रष्ट रूपमा झल्काएका थिए।

त्यसैगरी सामाजिक विभागको आयोजनामा नेपालका विभिन्न जातजातिको भेषभूषा प्रदर्शनी पनि गरिएको थियो। “नेपाल २४ जात, ३६ वर्णको फूलबारी हो” भन्ने मूल भावनासहित विद्यार्थीहरूले विभिन्न समुदायका परम्परागत पोशाकमा सजिएर नेपालको सांस्कृतिक विविधता प्रस्तुत गरेका थिए, जसले कार्यक्रमलाई अझ आकर्षक बनाएको थियो।

कार्यक्रमका सभापति तथा एडभान्स एकेडेमीका प्रिन्सिपल भीमबहादुर श्रेष्ठले विज्ञान प्रदर्शनीले विद्यार्थीहरूमा वैज्ञानिक सोच, अनुसन्धानशीलता र व्यवहारिक ज्ञान विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। साथै, सांस्कृतिक तथा भेषभूषा प्रदर्शनीले विद्यार्थीहरूलाई आफ्नो संस्कृति, पहिचान र परम्पराप्रति गर्व गर्न प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको उनले जानकारी दिए।

विद्यालय प्रशासनका अनुसार यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको सृजनशीलता, आत्मविश्वास, प्रस्तुतीकरण क्षमता र टोलीमा काम गर्ने सीप विकास गर्न मद्दत गर्छन्। विज्ञान प्रदर्शनीमार्फत विद्यार्थीहरूले कक्षाकोठामा सिकेका विषयलाई व्यवहारमा उतार्ने अवसर पाएका छन् भने सांस्कृतिक कार्यक्रममा सहभागी भएर नेपालको विविध संस्कृतिप्रति सम्मान र अपनत्व बढेको विद्यालयले जनाएको छ।

कार्यक्रममा शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उत्साहजनक उपस्थिति रहेको थियो। विद्यालयले आगामी दिनहरूमा पनि यस्ता सिर्जनात्मक तथा व्यवहारिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।