धादिङ–२ : संघर्ष र प्रतिबद्धताको नेतृत्व — रामबहादुर भण्डारी

Avatar photo
नारायण सिलवाल
माघ २१, २०८२

धादिङ । नेपाली राजनीतिमा केही व्यक्तिहरू पद र पहुँचका कारण होइन, संघर्ष र बलिदानका कारण चिनिन्छन् । रामबहादुर भण्डारी त्यही श्रेणीका नेता हुन्, जसको जीवन यात्रा नेपाली कम्युनिस्ट आन्दोलन, जनयुद्ध, दमन, जेल र शान्ति प्रक्रियासँग गहिरो रूपमा जोडिएको छ । हाल उनी नेकपाबाट धादिङ क्षेत्र नम्बर २ का प्रत्यक्ष उम्मेदवार हुन् ।

रामबहादुर भण्डारी इन्द्रबहादुर भण्डारी र पदम कुमारी भण्डारीका सुपुत्र हुन् । सुमित्रा भण्डारीसँग विवाह गरेका भण्डारी पाँच सन्तानका पिता हुन् । तर जनयुद्धको समयमा राज्यपक्षले उनको परिवारलाई गहिरो पीडा दियो । उनका दुई छोरा — सुचन्द्र भण्डारी (२०५८ साल चैत २९ गते बुढाथुमबाट) र सुवास भण्डारी (२०६० साल कार्तिकमा नयाँबजारबाट) आजसम्म बेपत्ता छन् । आफ्नै सन्तानको अवस्था नथाहा पाउने पीडाले पनि उनको राजनीतिक प्रतिबद्धता कमजोर बनेन ।

भण्डारीको राजनीतिक यात्रा २०३५ सालमा अखिल नेपाल किसान संघबाट सुरु भएको हो । २०३६ सालको जनमत संग्रहमा पोखरा, काठमाडौं, धादिङ, चितवन र बुटवलमा जनअभियान सञ्चालन गर्दै उनले जयराम श्रेष्ठ र भक्ति लामिछानेजस्ता नेताहरूसँग सहकार्य गरे । २०३८ सालमा नेकपा (चौम) का पूर्णकालीन सदस्य बनेका उनी २०४७ सालमा मोटो मशालको इलाका सेक्रेटरी भए । २०४८ मा एकता महाधिवेशन प्रतिनिधि हुँदै २०५१ सालमा नेकपा (माओवादी) मा आबद्ध भए ।

२०५२ साल पुषदेखि उनी पूर्णकालीन भूमिगत कार्यकर्ता बने । २०५२ फागुनदेखि नेकपा (माओवादी) धादिङको सेवक–सेवक दलको जिम्मेवारी सम्हालेका भण्डारी जनयुद्धको अग्रपंक्तिमा रहे । २०५५ साल जेष्ठ १८ गते बिहान ४ बजे नेपाल प्रहरीले सञ्चालन गरेको “किलोसेरा–२ अप्रेसन” अन्तर्गत उनलाई घरबाटै गिरफ्तार गरियो । भोलिपल्ट, २०५५ साल जेष्ठ १९ गते साविक ज्यामरुङ–४ मा प्रहरी हिरासतकै क्रममा उनको बायाँ छातिमा गोली प्रहार गरियो । प्रहरीले मृत घोषणा गरे पनि स्थानीय जनताको सहयोगमा उनलाई उद्धार गरी धादिङ जिल्ला अस्पताल हुँदै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइयो ।

तर उपचारकै क्रममा उनलाई पुनः गिरफ्तार गरियो र झुटा मुद्दा लगाएर ३ वर्ष २ महिना ७ दिन जेल चलान गरियो । पहिलो युद्धविरामको समयमा, २०५८ साल साउन २८ गते उनी हिरासतबाट मुक्त भए ।

जेलमुक्त भएपछि पनि भण्डारीको राजनीतिक यात्रा रोकिएन । २०५९ सालमा उनी धादिङ जिल्ला कमिटी सदस्य बने । २०६० मा विशेष क्षेत्र स्कुलिङ विभाग प्रमुख र २०६१ मा धादिङ जिल्ला जनसरकार प्रमुखको जिम्मेवारी सम्हाले । २०६३ सालमा शान्ति प्रक्रियासँगै खुला राजनीतिमा प्रवेश गर्दै उनले मेलमिलाप, पुनर्निर्माण र राजनीतिक स्थिरताको पक्षमा काम गरे ।

२०७० सालमा उनी स्थानीय शान्ति समिति धादिङका अध्यक्ष बने भने सोही वर्ष नेकपा माओवादीबाट प्रतिनिधि सभा सदस्यका समानुपातिक उम्मेदवार बने । २०८१ सालमा नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य र २०८२ सालमा नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य बनेका भण्डारी हाल नेकपाबाट धादिङ–२ का प्रत्यक्ष उम्मेदवार हुन् ।

छातीमा गोलीको घाउ, हृदयमा दुई बेपत्ता छोराको पीडा र आत्मामा जनताको आशा बोकेर राजनीति गर्ने नेता विरलै भेटिन्छन् । रामबहादुर भण्डारी त्यही विरल श्रेणीका नेता हुन्, जसले सत्ता होइन, संघर्ष रोजे र सुविधा होइन, जनताको पक्ष रोजे । यही कारण उनी आज पनि धादिङ–२ मा संघर्ष र प्रतिबद्धताको नेतृत्वका रूपमा स्थापित छन् ।

“यही कारण धादिङ–२ मा यतिबेला रामबहादुर भण्डारीको उम्मेदवारी विशेष चर्चामा छ । जनताको समस्या आफ्नै पीडा झैँ बुझ्ने, निडर र हक्की स्वभावका उनी आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि टिकट पाएसँगै जनतामाझ झन् सक्रिय र लोकप्रिय बनेका छन् ।”