
धादिङ । नेकपा एमाले धादिङ जिल्ला कमिटीले उम्मेदवारी दर्ताको दिन निर्वाचन अधिकृतको कार्यालयमा भएको घटनाप्रति औपचारिक रूपमा क्षमायाचना गरेको छ।
मंगलबार बसेको जिल्ला कमिटी बैठकले ०८२ माघ ६ गते धादिङ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारी दर्ताका क्रममा पार्टीभित्र देखिएको टिकट विवाद र त्यसबाट सिर्जित परिस्थितिप्रति दुःख व्यक्त गर्दै सम्बन्धित सबै पक्षसँग माफी माग्ने निर्णय गरेको हो।
केपी ओलीको हस्ताक्षर भएको उम्मेदवार सिफरिस टिकट धनबहादुर घले र चन्द्र रिजाल दुबैले ल्याएका थिए । दुबैले उम्मेदवारी दिने प्रयास गरेपछि कार्यकर्ताले चन्द्र रिजाललाई गेट मै रोकेर धनबहादुर घलेलाई कार्यालय भित्र प्रवेस गराएको थिए ।
सोही क्रममा उत्पन्न तनावका कारण रिजालले निर्वाचन अधिकृत तथा सुरक्षाकर्मीले आफूलाई रोक लगाएको आरोप लगाउँदै मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्मामाथि दुव्र्यवहार गरेको एमालेको भनाइ छ।
घटनाले आफ्नो कर्तव्यमा खटिएका मुख्य निर्वाचन अधिकृत, कर्मचारी तथा सुरक्षा निकायको सम्मान र मनोबलमा असर पुगेको स्वीकार गर्दै एमालेले गहिरो दुःख व्यक्त गरेको छ। पार्टीले भविष्यमा यस्ता कमजोरी नदोहरिने प्रतिबद्धता जनाउँदै निर्वाचन प्रक्रियामा संलग्न सबै कर्मचारी र सुरक्षा निकायलाई निर्भीक र उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गरेको छ।
एमालेले लोकतान्त्रिक प्रक्रिया, निर्वाचन प्रणाली तथा त्यसमा संलग्न सबै निकायप्रति पूर्ण सम्मान र सहकार्य गर्ने आफ्नो प्रतिबद्धता पनि पुनः दोहोर्याएको छ।
