
धादिङ। नीलकण्ठ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयले लगातार चौथो पटक विजयी भएको छ।
प्रतियोगिताको इतिहास हेर्दा:
- ०७९ मा १७ स्वर्ण,
- ०८० मा २१ स्वर्ण
- ०८१ मा २७ स्वर्ण
- ०८२ मा यस वर्ष पनि २५ स्वर्ण पदक सहित नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालय विजयी रह्यो।

गत वर्ष ४ स्वर्ण सहित चौथो स्थानमा रहेका एड्भान्स एकेडेमीले यस वर्ष ४ स्वर्ण पदक सहित दोस्रो स्थान हासिल गर्न सफल भएको छ।
माघ ६ गते बिहान ८ बजेदेखि सुरु हुने उक्त प्रतियोगितामा नगरभित्रका २८ वटा विद्यालयका ७८३ जना खेलाडीले सहभागिता जनाएका थिए भने चिल्ड्रपार्क बोर्डिङ तृतीय, शंखादेवी मावि चौंथो र देउराली मावि पाँचौ भएको शिक्षा अधिकृत प्रकाशदत्त भट्टले जानकारी दिए ।
प्रतियोगितामा कराँते विधामा केही विद्यालयले सहभागिता जनाउन नपाएको गुनासो गरेका छन्। एड्भान्स एकेडेमीका प्रिन्सिपल भीमबहादुर श्रेष्ठका अनुसार कराँतेका निर्णायक तथा जिल्ला खेलकुद समितिका प्रशिक्षकसमेत रहेका भीम गुरुङले अनुमतिविना कराँते सिकाइएका विद्यालयले प्रतियोगितामा भाग लिन नपाउने भन्दै एड्भान्स एकेडेमीलाई सहभागिता जनाउन नदिएका हुन्।
श्रेष्ठका अनुसार राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको कार्यविधिमा विद्यालयहरूले खेलकुद संघमा दर्ता हुनुपर्ने कुनै व्यवस्था उल्लेख छैन। यस्तो अवस्थामा सरकारी प्रशिक्षक स्वयंले एड्भान्स एकेडेमीका कराँते खेलाडीहरूको प्रतिभा प्रस्तुत गर्ने अवसर रोक्नु दुःखद रहेको उनले बताए।
