धादिङ । धादिङको नीलकण्ठ नगरपालिका स्तरीय रनिङ शिल्ड प्रतियोगितामा नीलकण्ठ बाल मन्दिर माविलेले लगातार तेस्रो जित निकाल्दै शिल्ड सधैंको लागि आफ्नो बनाएको छ ।
०७९ मा १७ स्वर्ण, ०८० मा २१ स्वर्ण र शनिबार सम्पन्न ०८१ को राष्ट्रपति रनिङ शिल्डमा २७ स्वर्ण सहित नीलकण्ठ बालमन्दिर माविले लगातार तेस्रो जित निकाल्दै रनिङ शिल्ड आफ्नो पक्षमा पारेको हो ।
यो प्रतियोगितामा नीलकण्ठ माविले २७ स्वर्ण,१८ रजत र १२ कांस्य पदक ल्याएर प्रथम हुँदा चिल्ड्रेनपार्क माविले ५ स्वर्ण,१ रजत र ६ कास्य ल्याउँदै द्वितिय र शंखादेवी मावि ४ स्वर्ण ६ रजत र ५ कास्य पदक सहित तृतीय भए ।
स्वर्ण पदक विजेता खेलाडीहरुलाई प्रोत्साहन स्वरुप जनही २-२ हजार र प्रथम हुने विद्यालयलाई रनिङ शिल्ड सहित ३० हजार, द्वितीय हुने विद्यालयलाई नगद २५ हजार र तृतीय हुने विद्यालयलाई नगद २० हजार पुरस्कार प्रदान गरिएको शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत प्रकाशदत्त भट्टले धादिङपोष्टलाई बताए ।
यस अघि हामीले १२ औं र १३ औं दुई वटा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता लगातार जितिसकेका छौं अब हुने १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डका लागि पनि जित्ने गरि खेलाडी छनोट गरिएको शिक्षा अधिकृत भट्टले बताए ।
पुरस्कार वितरण तथा प्रतियोगिता समापन कार्यक्रममा कार्यक्रममा नीलकण्ठ नगरालिकाका नगर प्रमुख तथा नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगाना,उप–मेयर दिपक विश्वकर्मा,प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी,वडा अध्यक्षहरु,कार्यपालिका सदस्यहरु,जिल्ला स्थित सरकारी कार्यलयका प्रमुख एवं प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो।