
धादिङ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य कुमार पाण्डेले आफू पार्टीमै रहेको स्पष्ट पारेका छन्। धादिङ क्षेत्र नम्बर १ को टिकटका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरी लबिङ गरेको भन्दै सञ्चारमाध्यममा आएका समाचारप्रति प्रतिक्रिया दिँदै उनले ती सबै हल्ला मात्र भएको बताएका हुन्।
धादिङ–१ मा रास्वपाको उम्मेदवार चयन प्रक्रियामा पाण्डे सहित चार जना आकांक्षीको नाम केन्द्रिय कार्यालयमा पुगेको थियो। तर अन्ततः रास्वपा केन्द्रले आशिका तामाङलाई उम्मेदवार बनाएपछि पाण्डेले आफु नेकपा नै भएको खुलाएका छन्।
यस विषयमा प्रतिक्रिया माग्दा पाण्डेले भने,
“म नेकपामै छु, मिडियामा आएको कुरा हल्ला मात्र हो।”
आकांक्षीको सूचीमा आफ्नो नाम कसरी आयो भन्ने प्रश्नमा उनले भने,
“कसले राख्यो मलाई थाहा छैन, म नेकपामै छु।”
उनी रास्वपाको सम्भावित उम्मेदवारका रूपमा चर्चा भइरहँदा पनि नेकपाले उनलाई केन्द्रीय सदस्यबाट हटाएको थिएन। त्यस्तै, पाण्डेले पनि औपचारिक रूपमा रास्वपाको सदस्यता लिएर पनि नेकपाको केन्द्रिय सदस्य नकारेका थिएनन् ।
यसैबीच, नेकपाकी केन्द्रीय सदस्य सीता ढुङ्गानाले भने नेकपा छाडेको पुष्टि गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै धादिङमा ४०–४५ वर्षदेखि एउटै धारको नेतृत्व हावी रहेको, पुस्तान्तरणको सम्भावना नदेखिएको र जनताको आग्रहका आधारमा परिवर्तनका लागि नेकपा छोड्ने निर्णय गरेको बताएकी थिइन्।
