
धादिङ । फागुन २१ गते प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवारी दिने मिति भोलि अर्थात् माघ ६ गते लाई तोकिएको छ। उम्मेदवारी मनोनयन प्रक्रियालाई सहज बनाउन जिल्ला निर्वाचन कार्यालय धादिङले राजनीतिक दलहरूलाई दलगत रूपमा मनोनयन गर्ने समय तोकेको हो ।
निर्वाचन कार्यालयका अनुसार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले क्षेत्र नम्बर १ र २ दुबैमा बिहान १० बजे उम्मेदवारी मनोनयन गर्नेछ ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धादिङ का उम्मेदवारहरूले बिहान ११ बजे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धादिङ ले दिउँसो १२ बजे उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेको छ ।
नेपाली कांग्रेस धादिङ का उम्मेदवारहरूले क्षेत्र नम्बर १ र २ मा दिउँसो १ बजे उम्मेदवारी मनोनयन गर्नेछन् भने नेकपा (एमाले) धादिङ ले दिउँसो २ बजे उम्मेदवारी दर्ता गर्ने जनाएको छ ।
त्यसैगरी संयुक्त नागरिक पार्टी ले दिउँसो २:३० बजे र नेपाली कम्युनिष्ट पार्टी (मसाल) धादिङ ले दिउँसो ३ बजे उम्मेदवारी मनोनयन गर्ने तालिका सार्वजनिक गरिएको छ।
निर्वाचन कार्यालयका अनुसार अन्य दल वा स्वतन्त्र उम्मेदवारहरूले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको निर्वाचन कार्यालयमा गई उम्मेदवारी दिन सक्नेछन् ।
उम्मेदवारी मनोनयनसँगै धादिङमा चुनावी सरगर्मी बढ्दै गएको छ भने दलहरू प्रचार तयारीमा जुटेका छन् ।

