
धादिङ । यही माघ १५ देखि २५ गतेसम्म धादिङबेसीस्थित खुल्ला मञ्चमा दशौँ धादिङ महोत्सव २०८१ आयोजना हुने भएको छ । महोत्सवमा जिल्लाभित्र उत्पादित स्थानीय वस्तुहरू खरिद–विक्रि गर्न विक्रेतालाई निशुल्क स्टल र खरिदकर्तालाई टिकट नचाहिने व्यवस्था मिलाईने आयोजकले जनाएको छ ।
महोत्सवमा जिल्लाका स्थानीय उत्पादन प्रवर्द्धनका लागि निशुल्क स्टल उपलब्ध गराइने धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीले जानकारी दिए । उनका अनुसार विशेष गरी उत्तरी धादिङको आलु र अकबरे खुर्सानी, सल्यानटारको मास र भटमास, बेनीघाट रोराङ गाउँपालिका–जवाङको स्वादिष्ट सुन्तला लगायत जिल्लाका मौलिक तथा पहिचान बोकेका उत्पादनहरू महोत्सवका मुख्य आकर्षण रहनेछन् ।
महोत्सवका प्रमुख आकर्षणहरूमा
- विषयगत क्षेत्रमा सरोकारवालासँग प्रत्यक्ष अन्तरसंवाद
- कृषि तथा घरेलु उत्पादन प्रदर्शनी र प्रतियोगिता
- सांस्कृतिक झाँकी प्रदर्शन
- भैरवी मन्दिर केन्द्रित विशेष पर्यटन प्रवर्द्धन गतिविधि
- स्थानीय तहका विशेष उत्पादन स्टल
- जिल्ला पशुसेवा, कृषि विकास र वन कार्यालयका सेवा तथा परामर्श
- स्थानीय परिकार तथा सांस्कृतिक खाना
- रमाइलो मेला तथा बाल उद्यान
- राष्ट्रिय तथा स्थानीय ख्यातिप्राप्त कलाकारबाट दैनिक सांस्कृतिक प्रस्तुति
समावेश गरिने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार महोत्सवले धादिङको कृषि, उद्योग, पर्यटन र संस्कृतिलाई राष्ट्रिय स्तरमा चिनाउने, स्थानीय उत्पादनको बजार विस्तार गर्ने तथा आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।

