धादिङमा पुस ९ देखि बागमती प्रदेश स्तरीय महिला भलिबल, ८ जिल्ला सहभागी हुने

Avatar photo
Dhadingpost
पुस ५, २०८२

धादिङ । धादिङबेसीमा पुस ९ देखि १२ गतेसम्म बागमती प्रदेश अन्तर–जिल्ला स्तरीय स्व. मनोज श्रेष्ठ स्मृति कप–२०८२ महिला भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगितामा बागमती प्रदेशका ८ जिल्लाका महिला भलिबल टोली सहभागी हुने भएका छन् ।

आयोजक धादिङ जिल्ला भलिबल संघका अध्यक्ष अमृत गुरुङ (तिलक) का अनुसार प्रतियोगितामा धादिङ, नुवाकोट, रसुवा, चितवन, मकवनपुर, सिन्धुली, रामेछाप, सिन्धुपाल्वाकसहित बागमती प्रदेशका ८ जिल्लाको सहभागिता रहनेछ । जसमा धादिङ आयोजक भएका कारण दुई टिम रहने छ भन्ने अरु जिल्लाबाट १-१ टिम रहने छन् ।

स्रोतका अनुसार खेलाडी सम्बन्धित जिल्लाकै हुनुपर्ने आयोजकको नीति रहेका कारण काठमाडौं, भक्तपुर र ललितपुरका टोलीहरूले प्रतियोगितामा सहभागिता जनाउन नसक्ने जानकारी दिएका छन् ।

आकर्षक नगद पुरस्कार
प्रतियोगितामा विजेता टोलीले रु २ लाख, उपविजेताले रु १ लाख र तेस्रो हुने टोलीले रु ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
यसैगरी स्पाइकर, सेटर, डिफेन्स, सर्वर र बेस्ट प्लेयर सहित ६ विधामा उत्कृष्ट खेलाडी पुरस्कार पनि प्रदान गरिनेछ ।

आयोजकले प्रतियोगिताले प्रदेशस्तरमा महिला भलिबल खेलाडीको क्षमता विकास र खेलकुद प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ ।