समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु, दलको आवेदन आजै

Avatar photo
Dhadingpost
मंसिर २१, २०८२

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम औपचारिक रूपमा सुरु गरेको छ। आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म राजनीतिक दलहरूले समानुपातिक प्रणालीतर्फ सहभागी हुनका लागि आवेदन दिन सक्ने समयसीमा तोकिएको छ।

समानुपातिक निर्वाचनका लागि आवेदन दिएका राजनीतिक दलहरूको सूची यही मंसिर २४ गते प्रकाशन गरिने आयोगले जनाएको छ। आवेदन दिएका दलहरूले आउँदो पुस १३ र १४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारको बन्दसूची पेस गर्नुपर्नेछ।

यस्तै, माघ ३० गते समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन हुने कार्यक्रम तय भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो। कुल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामध्ये समानुपातिक प्रणालीतर्फबाट १ सय १० सदस्य निर्वाचित हुने संवैधानिक व्यवस्था छ।

प्रत्यक्षतर्फको निर्वाचन कार्यतालिका पनि सार्वजनिक

आयोगको कार्यतालिकाअनुसार माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुने छ भने सोही दिन नै उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन गरिनेछ। माघ ७ गते उम्मेदवारीविरुद्ध उजुरी दिन सकिने समय तोकिएको छ।

त्यस्तै, माघ ८ गते उम्मेदवारको नामावली प्रकाशन, माघ ९ गते उम्मेदवारी फिर्ता लिने समय, सोही दिन नै उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरी चुनाव चिह्न प्रदान गरिने कार्यतालिका रहेको आयोगले जनाएको छ।

आगामी निर्वाचनलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित रूपमा सम्पन्न गर्ने लक्ष्यका साथ आयोगले कार्यतालिका कार्यान्वयनमा ल्याएको बताइएको छ।