आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, समाज रूपान्तरणमा स्वयंसेवकको भूमिका स्मरण

Avatar photo
Dhadingpost
मंसिर १९, २०८२

काठमाडौं । हरेक वर्ष डिसेम्बर ५ का दिन विश्वभर अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइन्छ। संयुक्त राष्ट्र सङ्घले सन् १९८५ मा यस दिवसको औपचारिक घोषणा गरेपछि संसारभर स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्दै विभिन्न कार्यक्रमका साथ यो दिवस मनाउने गरिन्छ।

यस वर्ष अर्थात् २०२५ को अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको नारा “Every Contribution Matters” (हरेक योगदान महत्वपूर्ण हुन्छ) रहेको छ। यस नाराले सानोदेखि ठूलो हरेक सहयोगले समाजलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने सन्देश दिन्छ। केही घण्टाको श्रमदान होस् वा कुनै सानो सीपको बाँडफाँड—हरेक स्वयंसेवकको योगदानले समुदायमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण योगदान पुर्‍याउँछ भन्ने सन्देश यस वर्षको नारामा समेटिएको छ।

स्वयंसेवकहरूले शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, सरसफाइ, वातावरण संरक्षण, सामाजिक सेवा र मानवीय सहयोग जस्ता क्षेत्रमा निःस्वार्थ भावनाले पुर्‍याएको योगदानले समाजलाई थप सशक्त बनाउँदै आएको छ। विशेषगरी विपद् र संकटको समयमा स्वयंसेवकहरू अग्रपंक्तिमा रहेर नागरिकको जीवन रक्षा र पुनर्स्थापनामा महत्वपूर्ण भूमिका खेल्दै आएका छन्।

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस स्वयंसेवकहरूको योगदानको कदर गर्ने, उनीहरूलाई प्रोत्साहन गर्ने र नयाँ पुस्तालाई सामाजिक सेवामा सहभागी हुन प्रेरित गर्ने महत्वपूर्ण अवसरका रूपमा लिइन्छ।