
धादिङ । नेपाली कांग्रेसको आसन्न १५औं महाधिवेशनको कार्यतालिका अनुसार नयाँ क्रियाशील सदस्यता वितरण कार्य औपचारिक रूपमा सुरु भएको छ।
नेपाली कांग्रेस धादिङका सह–सचिव नवराज तिमिल्सिनाका अनुसार धादिङ जिल्लामा यसअघि १५ हजार ७७२ जना क्रियाशील सदस्य रहेका थिए। क्रियाशीलताको आधारमा केन्द्रबाट उति नै संख्यामा नयाँ सदस्यता फारम जिल्लामा आइपुगेको र यसै महिनाको २० गतेसम्म सबै वडामा फारम पुगिसक्ने उहाँले जानकारी दिनुभयो।
“अब कति नयाँ सदस्य थपिन्छन् भन्ने चासोको विषय बनेको छ,” सह–सचिव तिमिल्सिनाले भने, “इच्छुक व्यक्तिले तोकिएको ढाँचाको फारम भरेर सदस्यता दस्तुरसहित आ–आफ्नो वडा कार्यसमिति मार्फत आवेदन पेश गर्नुपर्नेछ।”
क्रियाशील सदस्यता आवेदनका लागि आवश्यक कागजातहरू:
- नेपाली कांग्रेस वडा कार्यसमितिबाट प्राप्त हुने निवेदन फारम
- नेपाली नागरिकताको प्रमाणपत्र
- हालसालै खिचेको पासपोर्ट साइजको फोटो – २ प्रति
- सामाजिक गतिविधि तथा लोकतान्त्रिक आन्दोलनमा संलग्न भएको प्रमाण (भएमा)
- यसअघि कुनै भातृ–भगिनी संगठनमा आवद्ध भएको विवरण (भएमा)
नेपाली कांग्रेसले लोकतान्त्रिक मूल्य, सिद्धान्त र विचारमा विश्वास राख्ने योग्य नागरिकहरूलाई क्रियाशील सदस्य बनेर पार्टीको अभियानमा सहभागी हुन आह्वान गरेको छ।
