एमाले धादिङले आज १८ महाधिवेशन प्रतिनिधि छान्दै, प्रक्रिया सहमतिमै टुंगिने संकेत

Avatar photo
Dhadingpost
मंसिर १३, २०८२

धादिङ । नेकपा (एमाले) धादिङले ११ औं राष्ट्रिय महाधिवेशनका लागि दर्ता भएका ९३ जनामध्ये १८ जना प्रतिनिधि आज (मंसिर १३) छान्न लागेको छ। निर्वाचन कार्यतालिका अनुसार बिहान १० बजेदेखि साँझ ४ बजेसम्म मतदान हुने भनिए पनि मतदान नै नहुने सम्भावना बढेको छ।

प्रतिनिधि छनोटको सम्पूर्ण जिम्मा केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष भूमी त्रिपाठीलाई दिइएको छ। जिल्ला सचिव राधिका सापकोटाका अनुसार, “प्रतिनिधि सहमतिमै छानिन्छन्, मतदान हुने सम्भावना छैन,” भन्दै उनी प्रक्रिया सहज रूपमा टुंगिनेमा विश्वस्त छन्।

आन्तरिक समीकरणले किचलो बढ्यो
एमाले धादिङमा आन्तरिक शक्ति–सन्तुलनका कारण प्रतिनिधि छनोट प्रक्रियामा चलह–पहल बढेको छ। केन्द्रीय सदस्य लोहनी र जिल्ला अध्यक्ष त्रिपाठी जिल्लामा छुट्टाछुट्टै समूहमा भए पनि दुवैजना अध्यक्ष ओली निकट मानिन्छन्।

एक नेताका अनुसार, “मतदान गरियो भने अर्को पक्षबाट प्रतिनिधि आउन सक्छ भन्ने डर छ। त्यसैले सहमतिको नाममा ओली निकटलाई मात्र प्रतिनिधि बनाउने तयारी भइरहेको छ।”

उम्मेदवारी विवरण

धादिङ क्षेत्र नं. १ :
• ३ महिला कोटाका लागि — १० जना
• १ युवा कोटाका लागि — १३ जना
• ६ खुला कोटाका लागि — २४ जना

धादिङ क्षेत्र नं. २ :
• ४ खुला कोटाका लागि — २३ जना
• २ महिला कोटाका लागि — ८ जना
• १ युवा कोटाका लागि — १२ जना