
धादिङ । नीलकण्ठ नगरपालिका–१४ धुवाँकोटमा प्रत्येक वर्ष आयोजना हुँदै आएको मानबहादुर मेमोरियल कप फुटबल प्रतियोगिता यस वर्ष पौष २४ गतेदेखि सुरु हुने भएको छ। विद्यार्थी उपकार संघ धुवाँकोटले विगतका संस्करणलाई निरन्तरता दिँदै ११औं संस्करणको तयारी सुरु भएको जनाएको छ।
संघले मंगलबार बसेको कार्यसमिति बैठक मार्फत प्रतियोगिता पौष २४ देखि माघ २ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो। स्थानीय फुटबलको विकास र समुदायबीचको एकता बढाउने उद्देश्यले प्रतियोगिता आयोजना हुँदै आएको संघले जनाएको छ।
विगतका संस्करणहरु
- दशौं संस्करणको विजेता छोइलिङ
- नवौं संस्करणको विजेता चिसापानी
- आठौं संस्करणको विजेता दाङसिङ नुवाकोट
- छैटौंं संस्करणको विजेता नवस्टार नुवाकोट
धुवाँकोट पात्लेमा रहेको यो खेल मैदानको निर्माण कार्य सन् ०५१ सालतिर बोष्टन तामाङ, धनेन्द्र तामाङ, रोशन तामाङ, रामसिंह तामाङ लगायत स्थानिय युवाहरूले सुरुवात गरेका थिए। त्यसपछि स्थानीय बुद्धिलाल तामाङ (हाल क्यानडा), धनबहादुर तामाङ (हाल यूके), मानबहादुर तामाङलगायतको सक्रियतामा पात्ले खेल मैदान सुधार हुँदै अहिले व्यवस्थित रूप लिन पुगेको छ।
धादिङमा फुटबल खेलको उद्देश्यले निर्माण गरिएको पहिलो खेल मैदान मानिने पात्ले गाउँमै खेल गतिविधिको आधारशिला राख्ने अग्रज मानबहादुर तामाङको स्मरणमा विद्यार्थी उपकार संघले हरेक वर्ष ‘मानबहादुर मेमोरियल कप’ आयोजना गर्दै आएको छ।
