
धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजले आफ्नो सांगठनिक संरचना सुदृढ बनाउन तीन महत्वपूर्ण विभागमा नयाँ संयोजक तथा पदाधिकारी नियुक्त गर्दै नेतृत्व विस्तारित गरेको छ। समाजका अध्यक्ष राजन खकुराल र महासचिव बाबुकाजी भण्डारी द्वारा जारी विज्ञप्तिअनुसार स्वास्थ्य, सूचना–सञ्चार तथा युवा विभागमा नयाँ नेतृत्व चयन गरिएको प्रवक्ता सुदीप भुषण अर्यालले जानकारी दिए।
स्वास्थ्य विभागको संयोजकमा वरिष्ठ कन्सल्टेन्ट तथा प्राध्यापक डा. गोपी अर्याललाई नियुक्त गरिएको छ। स्वास्थ्य क्षेत्रमा उनको लामो अनुभवले धादिङ समुदायका लागि स्वास्थ्य सेवा, प्राविधिक क्षमता अभिवृद्धि तथा स्वास्थ्य सचेतना अभियानलाई थप प्रभावकारी बनाउने संस्थाको विश्वास छ।
सञ्चार तथा सूचना समन्वयलाई प्रवाहमूलक र व्यवस्थित बनाउन जापान निवासी राजन गौतमलाई प्रेस संयोजकका रूपमा चयन गरिएको छ। सञ्चार क्षेत्रमा सक्रिय गौतमको नेतृत्वले संस्थाको अन्तर्राष्ट्रिय पहिचान विस्तार, सूचना व्यवस्थापन र समन्वयमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
युवालाई नेतृत्व विकासतर्फ उन्मुख गराउने उद्देश्यले न्यूजिल्याण्ड निवासी सम्झना भण्डारीलाई युवा संयोजक बनाइएको छ। उनको नेतृत्वमा युवा–मैत्री कार्यक्रम, अन्तर्राष्ट्रिय युवाबीच सञ्जाल निर्माण तथा रचनात्मक गतिविधि सञ्चालन गरिने समाजले जनाएको छ।
अध्यक्ष खकुरालले नयाँ टिमले धादिङ समुदायको हित, संस्थाको सेवा प्रभावकारिता तथा अन्तर्राष्ट्रिय पहुँच विस्तारमा उल्लेखनीय भूमिका खेलेने विश्वास व्यक्त गरे। त्यसैगरी, महासचिव भण्डारीले विश्वभर छरिएका धादिङवासीलाई एउटै प्लेटफर्ममा जोड्दै सामूहिक विकासतर्फ अघि बढ्न नयाँ नेतृत्वले महत्वपूर्ण योगदान पुर्याउने बताए।
अन्तर्राष्ट्रिय धादिङ समाजले विश्वभर रहेका धादिङवासीका लागि सामाजिक, सांस्कृतिक तथा मानवीय सेवा कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको छ।
