
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले असोज ७ र ८ गते सम्पन्न केन्द्रीय समिति बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गरी विभिन्न प्रस्ताव पारित गरिएको पार्टीले जनाएको छ ।
बैठकले आगामी कार्तिक १४ र १५ गते केन्द्रीय विस्तारित बैठक गर्ने निर्णय गरेको छ । उक्त बैठकमा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको तयारीसम्बन्धी एजेण्डा छलफल हुने रास्वपाले जनाएको छ ।
बैठकले भदौ २४ गते नख्खु कारागार लगायतका स्थानमा भएको घटनाबारे अध्ययन र छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । सोसँगै, भदौ २२ र २३ गतेको आन्दोलनमा राज्य पक्षबाट भएको दमनबारे छानबिन गरी प्रतिवेदन तयार पार्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णयसमेत भएको छ ।
त्यसैगरी, विसं २०४६ सालदेखि उच्च सार्वजनिक ओहदामा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गरी सरकारले सार्वजनिक गर्नुपर्ने माग राखिएको छ ।
बैठकले जेजेसी आन्दोलनका क्रममा नेताहरूको निवासमा भएको अवैध नगद र चल-अचल सम्पत्ति सम्बन्धी विषयमा सत्यतथ्य छानबिन गर्न माग गरेको छ । साथै, जेजेसी उमेर समूहका युवाहरूसँग संवाद र सहकार्यका लागि विशेष समिति गठन गर्ने निर्णय भएको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि घोषणापत्र तयार गर्ने जिम्मेवारी डा. स्वर्णिम वाग्ले संयोजकत्वमा सात सदस्यीय समिति गठन गर्ने निर्णयसमेत बैठकले गरेको छ ।












