आज भदौ २२ गते पूर्णिमा चन्द्र ग्रहण लाग्ने

Avatar photo
Dhadingpost
भदौ २२, २०८२

काठमाडौं । विसं २०८२ साल भदौ २२ गते पर्ने पूर्णिमाको राति नेपालबाट समेत देखिने चन्द्र ग्रहण लाग्नेछ । यो यस वर्षको दोस्रो चन्द्र ग्रहण भए पनि नेपालबाट देख्न सकिने पहिलो चन्द्र ग्रहण हुनेछ ।

नेपालसहित युरोपको उत्तरपूर्वी भाग, सम्पूर्ण एसिया, अस्ट्रेलिया, उत्तरी अमेरिका लगायत एटलान्टिक र प्यासिफिक किनारका धेरै देशहरूबाट यो ग्रहण अवलोकन गर्न सकिने खगोलविद्हरूले जनाएका छन् ।

चन्द्र ग्रहण के हो ?

सूर्य र चन्द्रमाबीच पृथ्वी पर्न गएपछि लाग्ने प्राकृतिक प्रक्रिया नै चन्द्र ग्रहण हो । यस क्रममा पृथ्वीको छाया चन्द्रमा पर्छ र चन्द्रमा कालो वा धमिलो देखिन्छ । आंशिक छायामा परेको खण्डग्रास र पूर्ण छायामा परेको खग्रास चन्द्र ग्रहण भनिन्छ ।

परम्परा र धार्मिक विश्वास

ग्रहण अवधिभर खानपिन नगर्ने, कीर्तन–भजन गर्ने र ग्रहण समाप्त भएपछि खोला वा तीर्थस्थलमा स्नान गरी दान–पूण्य गर्ने परम्परा रहिआएको छ । धार्मिक मान्यताअनुसार ग्रहणले मानवीय जीवनमा केही प्रभाव पार्ने विश्वास छ भने वैज्ञानिक दृष्टिले यो केवल प्राकृतिक खगोलीय घटना हो ।

यसै दिन पर्ने पूर्णिमा व्रतलाई पनि हिन्दू धर्ममा विशेष महत्त्व दिइन्छ । सत्यनारायण पूजा, भगवान शिव र विष्णुको आराधना तथा चन्द्रदर्शन गरी व्रत समापन गर्ने चलन छ ।

नेपालभरका साथै विदेशमा रहेका नेपालीहरूले पनि आज राति लाग्ने चन्द्र ग्रहण अवलोकन गर्दै धार्मिक तथा सांस्कृतिक गतिविधि गर्ने अपेक्षा गरिएको छ ।