ल्याक्चे कुण्डमा भोली पौडी प्रतियोगिता

Avatar photo
Dhadingpost
साउन १, २०८२

धादिङ । धादिङको खनियाबास गाउँपालिका वडा नम्बर ३ स्थित ‘सुन चौर’ अर्थात् कुरी गाउँ/टोलमा रहेको ल्याक्चे कुण्डमा भोली अर्थात साउन २ गते पालिका स्तरीय पुरुष र महिला पौडी प्रतियोगिता हुने भएको छ ।

ल्याक्चे कुण्ड संरक्षण समाजले विगत केहि वर्ष देखि हरेक वर्ष ‘हाम्रो गाउँ आफै बनाऔ भन्ने मूल नारा’ का साथ ल्याक्चे कुण्डमा पौडी प्रतियोगिता आयोजना गर्दै आईरहेको छ जस अनुसार यस वर्षको प्रतियोगिता साउन २ गते हुन लागेको हो ।

गत वर्ष समाजले चार समूह बनाएर गरेको उक्त प्रतियोगितामा ४५ जनाले भाग लिएका थिए । जसमा महिला तर्फ बुर्बा तामाङ प्रथम, पुरुष १५-२० वर्ष उमेर समूह तर्फ सरुण तामाङ प्रथम, पुरुष २१-३० वर्ष उमेर समुहमा सुवास तामाङ प्रथम र पुरुष ४० वर्ष माथि उमेर समुहमा राजुबहादुर तामाङ प्रथम भएका थिए ।

गत वर्ष माओवादी केन्द्र खनियाबास ३ ले पनि पौडी प्रतियोगिता सम्पन्न गरेको थियो । ऎतिहासिक, पर्यटकिय सम्भावना बोकेको ल्याक्चे कुण्ड प्रचारका लागि भन्दै माओवादीले गरेको उक्त प्रतियोगितामा समीर तामाङ प्रथम, सौगात तामाङ दोस्रो र रमेश तामाङ तृतीय भएका थिए ।

किन ऐतिहासिक छ, ल्याक्चे कुण्ड
यस ऐतिहासिक पोखरी (ल्याक्चे कुण्ड) संसारको सृष्टि भए देखि नै अवस्थित रहेको अनुमान स्थानीयवासीको छ । निकै अघि पोखरी धेरै गहिरो रहेको र एक्कासी पोखरी भन्दा माथिबाट पहिरो आएकाले कुण्ड धेरै हदसम्म पुरिएको किम्बदन्ती छ । क्याफे मालिक तामाङको भने कुण्डलाई लिएर केही फरक कथन पेश गरे । उनका अनुसार, लाक्चे (लक्चे) भन्ने एउटा फल हुन्छ, जो लहरामा फल्छ । यसलाई ‘लहराना’ पनि भनिन्छ । सोही फलको नामबाट कुण्डको नामकरण गरिएको हुनुपर्ने उनको मत छ ।

यस कुण्डमा ठुलो एकादशीमा मेला लाग्छ । मेलामा बोन धर्मावलम्बीहरू (स्थानीय भाषामा झाँक्री) अर्थली, कुरी एवम् झार्लाङदेखि आउने गर्छन् । कुण्डमा विभिन्न किसिमका चराचुरुङ्गीहरू आइ पानी माथि खेलिरहेको देखिन्छ, तर पछिल्ला वर्षहरूमा पानी सुक्दै जाँदा चराहरू आउने क्रम घट्दो क्रममा रहेको तामाङ बताउँछन् । “ल्याक्चे स्कुल भएको ठाउँमा पहिले अर्को दह थियो, स्कुल बनाउदा सो दह पुरियो । त्यसको मूल सम्भवतः अर्कैपट्टि लाग्यो । पछी पहिरो आयो । लेते पनि आयो । र, ल्याक्चे कुण्ड पनि सिमेटिदै गयो”, उनी भन्छन् ।

जाडोयाममा कुण्डमा तातो पानी
कुण्ड कार्तिकसम्म पानी टलपल टलपल भरिएको हुन्छ । स्थानीयवासीहरू त्यतिबेला यही कुण्डमा नुहाइधुवाई गर्ने गर्छन् । कुण्डदेखि थोरै माथि पानीको मुहान छ, जो जाडो याममा तातो हुने गर्दछ । ल्याक्चे कुण्डमा हिउँ पनि पर्दछ, तर, पछिल्लो समय हिउँ पर्ने सिलसिला कम हुँदै गएको छ । अघिल्लो साल परेको हिउँ ३/४ दिनसम्म बसेको थियो ।

ल्याक्चे कुण्ड संरक्षण समूहले हरेक वर्ष साउने संक्रान्तिको भोलिपल्ट अर्थात् साउन २ गते पौडी प्रतियोगिता समेत आयोजना गर्दै आइरहेको छ । यस प्रतियोगिताको दिन स्थानीय एवम् आन्तरिक पर्यटकको उल्लेख्य उपस्थिति रहने गर्दछ । सुन्दर कुरी गाउँलाई अझ थप सुन्दरता बनाइदिने यस ऐतिहासिक पोखरीको संरक्षणमा स्थानीय सरकार लागिरहँदा यसको प्रचार-प्रसारमा अझ ध्यान दिन सके बेसै हुने देखिन्छ ।

कसरी पुग्ने ल्याक्चे कुण्ड
खनीयाबास कुरी स्थित ल्याक्चेकुन्ड पुग्न धादिङबेसीबाट जीपमा ४ घण्टा लाग्छ भने काठमाडौंबाट नुवाकोट त्रिशूली हुँदै यात्रुवहाक बसमा ९ घण्टा लाग्ने अध्यक्ष तामाङ बताउँछन् ।