
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेल आज आइतबार राति ८:४५ बजे अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुँदैछ ।
व्यवसायिक फुटबलमा बार्सिलोनाका लागि सबै उपाधि जिताउँदा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका मेस्सीले अर्जेन्टिनाका लागि पाँचौं विश्वकप खेलिरहेका छन् । मेस्सीका लागि कतार विश्वकप अन्तिम विश्वकप समेत हो । मेस्सीकै लागि भएपनि अर्जेन्टिनालाई विश्वकप उचाल्ने दबाब छ ।
यता, ह्युगो लोरिसको कप्तानीमा रहेको फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । साविक विजेता समेत रहेको फ्रान्स लगातार दोस्रो पटक विश्वकप उचाल्ने अभियानमा रहेको छ ।
अर्जेन्टिना र फ्रान्सबीच हालसम्म १२ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा अर्जेन्टिनाले ६ खेल जितेको छ । फ्रान्सले ३ खेल जित्दा ३ खेल बराबरीमा सकिएको छ ।
पछिल्लो पटक २०१८ मा रुस विश्वकपको राउण्ड अफ १६ मा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ गोल अन्तरले हराएको थियो ।
