
काठमाडौं । कतारमा जारी विश्व कपको सेमिफाईनल सम्मका सबै खेलहरुसकिए सँगै अर्जेन्टिना र फ्रान्स फाईनल पुगेका छन् । क्रोएसियालाई हराउँदै अर्जेन्टिना र मोरक्कोलाई हराउँदै फ्रान्सले फाईनल खेल्न पक्का गरेका हुन् यी दुई टिमको खेल आईतबार साँझ हुनेछ ।
गोल्डेन बुटमा मेस्सीकै अग्रता
फ्रान्सेली फरवार्ड किलीयन एमबाप्पेले लगातार दोस्रो खेलमा गोल गर्न नसक्दा फिफा विश्वकप कतार २०२२ को गोल्डेन बुट दौडमा लिओनेल मेस्सीले अग्रता लिएका छन् ।
प्रतियोगिताको साविक विजेता फ्रान्स ६० वर्षपछि उपाधि रक्षा गर्ने कीर्तिमान बनाउने लक्ष्यमा छ । यससँगै फ्रान्सका व्यक्तिगत खेलाडी पनि अन्य अवार्ड जित्ने सुरमा छन् । गोल्डेन बुट र गोल्डेन बलका लागि फ्रान्स र अर्जेन्टिनाका खेलाडीलाई दावेदारको रुपमा हेरिएको छ । अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीसँगै युवा फरवार्ड किलियन एमबाप्पे र एन्टोइन ग्रिजमनको नाम यसका लागि चर्चामा छ ।
गोल्डेन बुटमा लिओनेल मेस्सी र किलियन एमबाप्पेबीच प्रतिस्पर्धा छ । दुवै खेलाडीले ५-५ गोल गरेका छन् । असिस्टको आधारमा लिओनेल मेस्सी सूचिको शीर्षस्थानमा छन् । फिफाको नियम अनुसार गोल्डेन बुट विजेताको निर्धारणमा दुई वा सो भन्दा बढी खेलाडीको समान गोल भएको अवस्थामा असिस्ट संख्या गणना हुनेछ । असिस्ट पनि बराबरी भए कम मिनेट खेल्ने खेलाडीले गोल्डेन बुट पाउनेछन् । हाल मेस्सीको ३ असिस्ट र एमबाप्पेको २ असिस्ट छ ।
मेस्सीले प्रतियोगिताको ६ खेल खेल्दा एक खेलमा मात्र गोल गर्न सकेका छैनन् । पहिलो खेलमा साउदीविरुद्ध गोल गरेका मेस्सीले दोस्रो खेलमा मेक्सिकोविरुद्ध १ गोल र १ असिस्ट दिएका थिए । तेस्रो खेलमा पोल्यान्डविरुद्ध उनले गोल गर्न सकेनन् । नकआउट चरणको सबै तीन खेलमा मेस्सीले गोल गरेका छन् । अष्ट्रेलियाविरुद्ध एक गोल गरेका मेस्सीले त्यसयता नेदरल्यान्ड्स र क्रोएसिया दुवै विरुद्ध १ गोल र १ असिस्ट दिएका छन् ।
यता फ्रान्सका फरवार्ड एमबाप्पेले भने ६ मध्य तीन खेलमा कुनै गोल र असिस्ट दिन सकेका छैनन् । नकआउट चरणको पछिल्लो दुई खेलमा उनी गोलविहिन नै छन् । पहिलो खेलमा अष्ट्रेलियाविरुद्ध १ गोल र १ असिस्ट दिएका उनले डेनमार्कविरुद्ध २ गोल गरे । पोल्यान्डविरुद्ध जितमा २ गोल र १ असिस्ट गरेका एमबाप्पे इंग्ल्यान्ड र मोरक्कोविरुद्ध भने गोल गर्न सकेनन् ।
