
धादिङ । धादिङ २ को प्रदेश २ को सत्ता गठबन्धनका उम्मेदवार जगत सिंखडाले उत्तरी धादिङको मुक्राव देवि मावि बोराङ मतदान स्थलमा एमाले राप्रपा गठबन्धनले बुथ कब्जा गरेको बताएका छन् । बोराङ पूर्व गृहमन्त्री एवम् राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको गाउँ हो ।
बोराङबाट धादिङपोष्ट सँग कुरा गर्दै माओवादीका नेता विजय तामाङले पनि आफू मतदान केन्द्र मै रहेको र सुरक्षा कर्मीकै अगाडी एमाले राप्रपा गठबन्धनका कार्यकर्ताले आफ्ना कार्यकर्ताको मत समेत खोसेर मतदान गरेको बताए ।
१०१४ मतदाता रहेको यस मतदान केन्द्रमा स्थानीय तहको निर्वाचनमा ६०० को हाराहारीमा मत खसे पनि आजको निर्वाचनमा एमाले राप्रपा गठबन्धनका कार्यकर्ताले ७९० को हाराहारीमा मत हालिसकेको उनले बताए । उम्मेदवार जगत सिंखडाका अनुसार सुरक्षाकर्मी कै मिलेमतोमा बुथ कब्जा भएकोले सत्तागठबन्धनका कार्यकर्ताहरुले केहि नगरी बसेको र आफुले माथिल्लो निकायमा पनि यहि जानकारी गराएको बताए ।
यसै क्षेत्रका संघीय उम्मेदवार एमालेका केन्द्रिय सदस्य खेम लोहनीले भने बोराङको मतदान केन्द्रमा उत्साहजनक मतदाताहरु उपस्थित भएर मतदान गरेको बताए । मतदाताले कुन चिन्हमा मतदान गरे त्यो थाहा भएन त्यहाँ कुनै हुल दंगा भएको छैन । यस्तो शान्तिपूर्ण निर्वाचनलाई बुथ कब्जाको हल्ला फिजाईनु गलत भएको समेत उनले बताए ।
त्यस केन्द्रका मतदान अधिकृत तुलसीराज अर्याललाई हामीले 9843820002 मा पटक पटक फोन गर्दा फोन उठाएनन् भने उनी पेशाका हिसावले खनियाबास स्थित एक विद्यालयमा पढाउने शिक्षक हुन् ।
