
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज बुधबार पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पाहुना टोली पाकिस्तानको सामना गर्नेछ । खेल साँझ ५:०० बजे सुरु हुनेछ।
नेपाल र पाकिस्तानको राष्ट्रिय फुटबल टोलीले ४ वर्षपछि एकअर्काको सामना गर्ने भएका हुन् । पाकिस्तान विरुद्धको खेलका लागि राष्ट्रिय टोलीको कप्तानको जिम्मेवारी पाएका रोहित चन्दले पाकिस्तान सधै कठिन प्रतिद्वन्द्विका रुपमा रहेको बताएका छन् ।

नेपालले हालसम्म पाकिस्तानसँग १६ खेलमा प्रतिस्पर्धा गरेको छ । जसमा नेपालले ४ खेल जितेको छ । पाकिस्तानविरुद्ध नेपालले ७ खेलमा हार व्यहोरेको छ भने ५ खेलमा बराबरी खेलेको छ । नेपालले पाकिस्तानसँग पहिलो पटक सन् १९८५ मा खेलेको थियो । जुन खेलमा नेपालले पाकिस्तानसँग २-२ गोलको बराबरी खेलेको थियो ।
नेपालले पछिल्लो पटक पाकिस्तानसँग २०१८ मा खेलेको थियो । साफ च्याम्पियनसिप अन्तर्गत ढाकामा भएको खेलमा नेपाल २-१ ले पराजित भएको थियो । नेपालका लागि विमल घर्तिमगरले एक गोल गरेका थिए ।






