विश्वकप छनोटका लागि आज नेपाल र युएई बीच प्रतिस्पर्धा

Avatar photo
Dhadingpost
कार्तिक २८, २०७९

काठमाडौं । नेपालले पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा आज सोमबार बिहान ९ बजे पाहुना टोली युएईसँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपाल र युएईबीच एकदिवसीय तीन खेलको सिरिज हुनेछ । नेपाल र यूएई पहिलो पटक नेपालमा खेल्न लागेका हुन् ।

नेपाल र युएईबीचको पहिलो खेल पहिलो खेल आज कार्तिक २८ (नोभेम्बर १४) मा पहिलो खेल खेल्ने छ भने दोस्रो खेल कार्तिक ३० (नोभेम्बर १६) मा र तेस्रो खेल मंसिर २ (नोभेम्बर १८) मा खेल्नेछ । सबै खेल टियु मैदानमा बिहान ९ बजे सुरु हुनेछन् ।

नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबिया भ्रमण अघि युएईसँग सिरिज खेल्न लागेको हो । नेपालले डिसेम्बरमा नामिबिया भ्रमण गर्नेछ । नेपाल, नामिबिया र स्कटल्यान्डबीच सिरिज हुनेछ । जुन सिरिज डिसेम्बर २ देखि सुरु हुनेछ ।

नेपाल हाल विश्वकप लिग–२ मा ८ मा जित र ११ मा हार सहित १७ अंकका साथ छैटौं स्थानमा छ । नेपालले अव विश्वकप लिग–२ मा १६ खेल खेल्न बाँकी छ । जसमा ८ घरेलु मैदान टियु र ८ विदेशी भूमिमा छन् । विदेशी भूमिमा नामिबिया र पपुवा न्युगिनी हुनेछ । नेपाल शीर्ष तीनमा परे सोझैं एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछ । अन्यथा क्वालिफायर खेल्नुपर्ने हुन्छ ।

युएईको टोली :
सिपी रिजवान (कप्तान), वृत्य अरविन्द (उप-कप्तान), अहमद राजा, एलिशान शरफुल, आदित्य सिठ्ठी, बासिल हामिद, अयान खान, मोहम्मद वासिम, अश्रन्त वल्थापाल, हजरत बिलाल, रोहन मुश्तफा, जहुर खान, जुनैद्द सिद्दीक, विष्णु सुकुमारन र सबिर अली ।

नेपाली क्रिकेट टोली :
रोहित पौडेल (कप्तान), ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, भीम सार्की, कमलसिंह ऐरी, सागर ढकाल, हरिशंकर शाह, आदिल आलम, अर्जुन साउद र गुलशन झा ।