
काठमाडौं । साफ यू-१५ महिला च्याम्पियनसिप फुटबल अन्तरगत नेपाल र बंगलादेशबीच हुने आजको खेल फाइनल सरहको खेल हो । किनकि यस खेलको विजेताले उपाधि चुम्नेछ ।
नेपालले डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग खेल्न लागेको हो । ढाकामा हुने खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ । नेपाल ३ खेलमा अपराजित रहदै ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । बंगलादेश ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

उपाधि उचाल्न नेपाललाई बंगलादेशविरुद्ध बराबरीको नतिजाले पुग्नेछ । तर, बंगलादेशलाई भने फराकिलो जित आवश्यक छ । यस अघिको भेटमा नेपालले बंगलादेशलाई १-० ले हराएको थियो । यस्तै नेपालले पहिलो भेटमा भुटानलाई ७-० ले हराएको थियो भने दोस्रो भेटमा नेपालले १-० को जित निकालेको थियो ।
बंगलादेशले पहिलो भेटमा भुटानमाथि ८-० र दोस्रो भेटमा ९-० को जित निकालेको छ । भुटान अंक विहीन रहदै बाहिरिएको छ ।


