
सिमरा । मधेस प्रदेशका दुई सांसदसहित नेकपा एकिकृत समाजवादीका ११ जना नेता नेकपा एमाले फर्किएका छन् । एमाले फर्किनेमा नेकपा एसका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष सुन्दर विश्वकर्मा, निवर्तमान प्रदेश सभा सदस्य एवं केन्द्रीय निर्वाचन आयोग सदस्य सीता गुरुङ लगायत छन् । विश्वकर्मा बारा क्षेत्र नं. ४(क) बाट निर्वाचन प्रदेश सांसद र गुरुङ मधेस प्रदेशको निवर्तमान समानुपातिक सांसद हुन् ।
त्यसैगरी एमाले फर्किएका अन्यमा केन्द्रीय परिषद् सदस्य कौशल किशोर सिंह, महेश विश्वकर्मा, मधेस प्रदेश कमिटी सदस्य दशरथ राम, विद्या थापा, मिन रहपाल, जिल्ला कमिटी सदस्य मञ्जु खनाल, मञ्जु भट्टराई, अच्छेलाल राम र मुक्ती सहनी रहेका छन् । नेकपा एमालेबाट छुट्टिएर माधवकुमार नेपालको नेतृत्वमा समाजवादी पार्टी निर्माण भएपछि उनीहरु सोही पार्टीमा सक्रिय रहँदै आएका थिए। समाजवादीको विभिन्न जिम्मेवारी रहँदै आएका उनीहरु एमाले फर्किएका हुन् ।




































