महिला साफ सेमिफाइनलमा आज नेपाल र भारत भिड्दै

Avatar photo
Dhadingpost
भदौ ३१, २०७९

धादिङ । महिला साफको यो छैठौं संस्करणमा आज फाईनल यात्राको लागि नेपालले आफ्नै घरेलु मैदानमा भारतसँग खेल्दैछ । साफ महिला च्याम्पियनसिप २०२२ को सेमिफाइनलमा आज नेपालले फाईनल पुग्नका लागि भारतलाई हराउनै पर्ने हुन्छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले साविक विजेता भारतको सामना गर्नेछ । नेपाल र भारतबीचको खेल साँझ ५:३० बजेबाट सुरु हुनेछ । समूह चरणमा नेपाल अपराजित रहेर अन्तिम चारमा पुगेको हो । समूह ‘बी’ को नेपालले २ खेलमा ६ अंक जोडेको थियो । नेपाल समूह चरणमा विजेता बनेको थियो ।

भारतले समूह ‘ए’ को उपविजेता बन्दै नेपालसँगको भेट पक्का गरेको हो । समूह चरणको अन्तिम खेलमा भारतले बंगलादेशसँग ३-० को हार व्यहोरेको थियो । यस खेलको विजेताले फाइनलमा बंगलादेश र भुटानबीचको खेलको विजेताले खेल्ने छन् । बंगलादेश र भुटानबीचको पहिलो सेमिफाइनल दिउँसो १ बजेबाट सुरु हुनेछ ।

यसअघिका पाँच मध्ये चार संस्करणमा नेपाल फाइनलमा भारतसँगै पराजित हुँदै उपविजेतामै सीमित भएको थियो । भने एक संस्करण भारतको सिलिगुडीमा आयोजना भएको चौथो संस्करणको सेमिफाइनलमा पनि नेपाल भारतसँगै स्तब्ध भएको थियो ।