धादिङबेसीमा नीलकण्ठ बहुप्राविधिक शिक्षालय संचालन गर्न मन्त्रालयद्वारा स्वीकृति

Avatar photo
Dhadingpost
साउन १९, २०७९

धादिङ । नीलकण्ठ नगरपालिकाको कार्यपालिका सदस्यहरुले पदभार ग्रहण गरेकै दिन बसेको बैठकले माओवादी केन्द्रबाट निर्वाचित उपमेयर दिपक विश्वकर्मालाई चुनौती पूर्ण जिम्मेवारी दिईयो ।

उक्त पहिलो बैठकले ४ बुँदै निर्णय गरेपनि दोस्रो बुँदामा प्रष्ट लेखिएको थियो नगरपालिकामा एक बहुप्राविधिक शिक्षालय स्थापना गरी प्राविधिक जनशक्ति उत्पादन गर्ने सो कामको जिम्मा नगर उपप्रमुखलाई दिईने ।

यो चुनौतिपूर्ण जिम्मेवारी पुरा गर्न दौड धुपमा रहेका उपमेयरले २ महिनाको अवधिमा मन्त्रालयबाट स्वीकृत लिने कार्य सम्पन्न गरेका छन् । प्राविधिक शिक्षालय संचालन गर्नको लागि वडा नं ४ साविकको खानीगाउँ आधारभूत विद्यालयलाइ नीलकण्ठ माविमा मर्ज गरेर उक्त विद्यालयलाइ आधार बनाइ नीलकण्ठ बहुप्राविधिक शिक्षालय संचालन गर्न राखिएको प्रस्तावमा मन्त्रालयले स्वीकृति दिएको हो ।

पहिलो चरणमा डिप्लोमा इन इन्जिनियरिङ तर्फ हाइड्रो इन्जिनियरिङ र अटोमेकानिकल्सका कक्षाहरु संचालन हुने पनि बताइएको छ । त्यस्तै निकट भविष्यमै फार्मेसीको कक्षा पनि संचालनमा आउने नीलकण्ठ नगरपालिकाका उपमेयर विश्वकर्माले जानकारी दिए । उक्त शिक्षालयमा सीटीइभिटिकै दरवन्दी संरचना अनुसार कर्मचारी तथा शिक्षकहरु रहनेछन् ।