नेपालका उमेश राईले माल्दिभ्समा जिते रजत पदक

Avatar photo
Dhadingpost
साउन ५, २०७९

काठमाडौं । माल्दिभ्समा भएको ५४ औं एसियाली शरीरिक सुगठन तथा फिजिक स्पोर्टस च्याम्पियनसिप अन्तर्गत ८० केजी तौल समुहको प्रतिस्पर्धामा नेपालका उमेश राईले रजत पदक जितेका छन् ।

नेपालको प्रतिनीधित्व गर्दै ८० केजी तौल समुहमा भाग लिएका नेपाली शारीरिक सुगठन खेलाडी राईले रजत पदक जित्दा भारतका आश्विन सेठ्ठीले स्वर्ण र थाइल्यान्डका पतैवात अलकावातले कांस्य पदक जितेका थिए ।

यसअघि फिटनेस फिजिकतर्फ १७० सेन्टिमिटरसम्म नेपालका राजु राईले कांस्य पदक जितेका थिए । नेपालका तीन खेलाडीले भाग लिएको च्याम्पियनसिपमा महिलातर्फ एथलेटिक फिजिकमा सुजिता मानन्धरले छैटौं स्थान हात पारेको टोली व्यवस्थापक दिनेश राजभण्डारीले जानकारी गराएका छन् ।

खेलाडीको मनोबल उच्च पार्न नेपाल शारीरिक सुगठन तथा फिजिकल फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले रजत जित्ने खेलाडीलाई १ लाख र कांस्य जित्ने खेलाडीलाई ७५ हजार नगदबाट सम्मान गर्ने घोषणा गरेको व्यवस्थापक राजभण्डारीले बताए ।

यसै क्रममा नेपालले २०२३ मा गर्ने ५५ औं एसियन शारीरिक सुगठन प्रतियोगिताका लागि नेपालबाट अध्यक्ष राजेशबाबु श्रेष्ठ र एसियन फेडेरेसनबाट दातुक पाउल चुवाले सम्झौता–पत्रमा हस्ताक्षर गरे ।