जिसस धादिङ परिसरमा ३ गाडी र १९ मोटरसाईकल थन्किए, भएको एउटा पनि सिद्धलेकको नाममा

Avatar photo
Dhadingpost
असार ९, २०७९

धादिङ । जिल्ला समन्वय समिति धादिङको प्राङ्गणमा ३ वटा गाडी र १९ वटा मोटरसाईकलहरु थन्किएर बसेको देख्न सकिन्छ । पूर्व जिल्ला सभापति खेम प्रसाद लोहनी चढेको गाडी प्रयोग नै गर्न नमिल्ने अवस्थामा छ भने अन्य २ वटा मर्मत गर्दा चलाउन सकिने अवस्थामा हुँदा पनि थक्याईएको छ ।

पहिलोको जिल्ला विकास समितिको भवनमा नै अहिलेको जिल्ला समन्वय समिति रहेको छ । यो भवन भन्दा पछाडी पटी गाडी र मोटरसाईकलहरु थन्याईएको अवस्थामा देख्न सकिन्छ भने केहि मोटर साईकलको महत्वपूर्ण पार्टहरु निकालिएको अवस्थामा छन् ।

स्थानीय तह पुनरसंरचना भए सँगै जिल्ला विकासबाट कर्मचारीहरु गाउँपालिका सरुवा भएका र उनीहरुलाई गाउँपालिकाले नै नयाँ सवारी साधनको व्यवस्था गरेपछि चल्दा चल्दै गरेका कतिपय १ वर्ष समेत नचलेका मोटरसाईकलहरु अलपत्र अवस्थामा थन्किएको बताईन्छ ।

अहिले जिल्ला समन्वयमा एउटा गाडी चालु अवस्थामा भएपनि सिद्धलेक गाउँपालिकाको नाममा रहेको र सिद्धलेकले गाडी फिर्ता गर्न ताकेता गरेको बुझिएको छ । जिससका एक कर्मचारीका अनुसार जिल्ला समन्वयले आफै गाडी खरीद गर्न नमिल्ने भएपछि सिद्धलेकलाई पैसा दिएर गाडी किन्न लगाईएको र सिद्धलेकले नामसारी नगरेकोले अहिले समस्या उत्पन्न भएको बताईएको छ ।