
धादिङ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ खाल्टे घरभई पोखरामा बस्दै आएकी कञ्चन अगस्ती बुधबार सेती नदिमा हामफालेर बेपत्ता भएकी छन् ।
प्रहरीका अनुसार यो घटना बुधबार दिउँसो पौने १ बजेको हो । नदीपुर र फूलबारी जोड्ने पूरानो पुलको बीच भागबाट हामफालेको सिसिटिभी फुटेजमा देखिएको प्रहरीको भनाइ छ । उनले नदीमा हामफाल्नु अघि आफ्नो परिचयपत्र भने पुलमै छोडेकी थिइन् ।
उनी पोखराको पृथ्वीनारायण क्याम्पसमा दिवासत्रमा अध्ययनरत थिइन् । उनलाई ११ः४५ बजे उनका बुबा युगमराज अगस्तीले मोटरसाइकलमा क्याम्पस पुर्याएर फर्किएका थिए । कञ्चनले किताबसहितको झोला कक्षा कोठामै छाडेर पुलमा झरेको बताइन्छ ।
बुधबार साँझसम्म प्रहरी, सशस्त्र प्रहरीको रेस्क्यू टीम, आफन्तजन र केही स्थानीयको सहयोगमा कञ्चनको खोजी गरिएको भएपनि फेला परेको छैन । खोजी कार्यलाई बिहीबार बिहानैबाट निरन्तरता दिईएको कास्की प्रहरीले जनाएको छ ।
