नीलकण्ठको मेयरमा कांग्रेसका ढुङ्गाना र उपमेयरमा माओवादीका विश्वकर्मा विजयी

Avatar photo
नारायण सिलवाल
जेष्ठ ४, २०७९

धादिङ । धादिङ जिल्लाको सदरमुकाम रहेको नीलकण्ठ नगरपालिका मेयरमा फेरि कांग्रेसका भिम ढुङ्गाना निर्वाचित भएका छन् भने उप मेयरमा माओवादी केन्द्रका दिपक विश्वकर्मा विजयी भएका छन् ।

०७४ मा अत्याधिक मतका साथ मेयर पदमा विजयी भएका ढुङ्गानाले यो पटक पनि अत्याधिक मत ल्याई विजयी हुन सफल भए भने जिल्लाको १३ वटै स्थानीय तह मध्ये प्रमुख–उपप्रमुख वा अध्यक्ष–उपाध्यक्ष मध्ये एक मात्र दलित उम्मेदवार विश्वकर्माले लाेकप्रिय मतका साथ उपमेयरमा विजयी बने ।

जितका लागि ढुङ्गानाले १४५७५ मत मत ल्याएका थिए भने उनको निकटम प्रतिद्वन्दी एमाले उम्मेदवार गंगादेवी श्रेष्ठले ९०६४ मत ल्याईन । यस्तै आफ्नो जितका लागि विश्वकर्माले ९६९३ मत ल्याएका थिए भने प्रतिद्वन्दीहरु एमालेका फन्द्रा तामाङको ७९१३ मत र स्वतन्त्रका उम्मेदवार कल्पना अधिकारीको ४६२२ मत रहेको थियो ।

०७४ सालमा भिम ढुङ्गानाले १३,१६६ मत विजयी हुँदा प्रतिपर्धी एमालेका अर्जुन श्रेष्ठ गोर्खालीले ६,६९० मत पाएका थिए । यस्तै उप मेयरमा माओवादीका मनराज भण्डारीले १०,३२३ मतका साथ विजयी हुँदा प्रतिपर्धी एमालेकी गंगादेवी श्रेष्ठले ७,४४४ मत पाएकी थिईन् ।

नीलकण्ठमावडा अध्यक्षको नतिजा यस्तो छ
नीलकण्ठ १ गणेशबहादुर गुरुङ, माओवादी केन्द्र
नीलकण्ठ २ मा ध्वजबहादुर गुरुङ, माओवादी केन्द्र
नीलकण्ठ ३ राजकुमार श्रेष्ठ, स्वतन्त्र
नीलकण्ठ ४ मा हरि बहादुर, श्रेष्ठ एमाले
नीलकण्ठ ५ रामबहादुर श्रेष्ठ, माओवादी केन्द्र
नीलकण्ठ ६ भुपेन्द्र कुमार श्रेष्‍ठ, कांग्रेस
नीलकण्ठ ७ गौतम हरि अधिकारी, कांग्रेस
नीलकण्ठ ८ प्रकाश कुमार श्रेष्ठ, स्वतन्त्र
नीलकण्ठ ९ राजन बराइली, कांग्रेस
नीलकण्ठ १० सरोज पाण्डे, कांग्रेस
नीलकण्ठ ११ रामबहादुर श्रेष्ठ कांग्रेस
नीलकण्ठ १२ मा राजकुमार भण्डारी, कांग्रेस
नीलकण्ठ १३ सोम बहादुर गुरुङ, कांग्रेस
नीलकण्ठ १४ नमराज दुवाडी माओवादी केन्द्र

मेयर भिम ढुङ्गानाको जीवनी
विक्रम संबत् २०२३ सालमा धादिङ जिल्लाको तत्कालिन मुरलीभञ्ज्याङ गाविसमा जन्मिएका ढुङ्गाना सानै देखि निडर, हक्की र स्पष्ट वक्ताका रुपमा चिनिन्छन् । २०३७ सालमा नीलकण्ठ मावि धादिङबेशीमा कक्षा ७ मा पढ्दै गर्दा नेबिसंघ जिल्ला सदस्य भएका उनी कक्षा ९ मा पढ्दै गर्दा २०३९ सालमा १६ वर्षको कलिलो उमेरमै नेपाल विद्यार्थी संघ धादिङको अध्यक्ष बन्न सफल भए ।

युवाहरुको माझमा निकै लोक प्रिय छवि बनाएकै कारण उनलाई तत्कालिन पञ्चायती सरकारले विभिन्न झुटो मुद्धा लगाई फसाउने सढ्यन्त्र समेत रच्ये पनि उनी त्यसबाट उम्कन सफल रहे । २०४२ सालमा भएको सत्याग्रहमा गिरफ्तार भई नुवाकोटमा ५ महिने जेल जीवन बिताउन बाध्य भएका उनी २०४६ साल अघि पञ्चहरुको बिरोधमा उत्रीएकै कारण पटक(पटक हिरासत र जेलमा परे ।

१४ वर्षसम्म नेपाल विद्यार्थी संघ धादिङको नेतृत्व समालेका उनी २०४९ सालको स्थानिय निकायको चुवाव पछि तत्कालिन मुरलीभञ्ज्याङ गाविसबाट २६ वर्षको उमेरमा गाविस अध्यक्ष बन्न सफल भए । विकास प्रेमी नेताको छवि बनाएकै कारण २०५४ सालको स्थानिय निर्वाचनमा पनि उनी सोही गाबिसबाट पुन अध्यक्ष बन्न सफल भए ।

२०५५ सालमा गाविस राष्ट्रिय महासंघको माहासचिब बने पछि उनको राजनैतिक पृष्ठभुमी झन् फराकिलो हुन पुग्यो । २०५९ सालमा गाविस महासंघको तर्फबाट सडक बोर्डको संस्थागत प्रतिनिधि हुदै २०६० सालबाट फन बोर्डको बोर्ड अफ डाइरेक्टर र चियर मेन भएर कार्य सम्पादन गरेका उनीसंग अन्य बिभिन्न ११ वटा मन्त्रालयमा बोर्ड अफ डाइरेक्टर भएर कार्य सम्पादन गरेको अनुभव समेत रहेको छ । २०४८ सालदेखिनै नेपाली काग्रेस धादिङको बिभिन्न अधिबेशनबाट निरन्तर क्षेत्रीय प्रतिनिधि, महादिबेशन प्रतिनिधि र महासमिति सदस्य बन्न सफल उनी नेपाली कांग्रेसको धादिङ क्षेत्र नं २ का पुर्व सभापति समेत हुन् ।

पार्टीको जिल्ला सभापतिको लागि प्रत्याशी समेत रहेका उनी नेपाली कांग्रेस धादिङ लोक प्रिय नेता मानिन्छन् । एक्सन नेपालका अध्यक्ष समेत रहेका उनले बिभिन्न अन्तराष्ट्रिय गैर सरकारी संस्थाको सहयोगमा धादिङ जिल्लाको सबै गाउँपालिका र नगरपालिकामा विकासको लहर पु¥याउन सफल भएका छन् ।

खानेपानी, सडक, कुलो, झोलुङ्गे पुल, जिविकोपार्जन कार्यक्रमलाई गाउँ गाउँसम्म पु¥याउन उनले गरेको मिहेनतलाई धादिङबासीले निकै श्रद्धाका साथ हेर्ने गरेको पाउन सकिन्छ । धादिङको विकास प्रेमी नेताको रुपमा परिचित उनले पहिलो ५ वर्षे कार्यकालमा हरेक वर्ष नीलकण्ठलाई देशभरकोउत्कृष्ट नगरपालिका नगरपालिका बनाउन सफल भए ।

उपमेयर दीपक विश्वकर्मा राजनीतिक सक्रियता
विश्वकर्मा हाल नेकपा माओवादी केन्द्रको बाग्मती प्रदेश सचिवालय सदस्य र नेपाल दलित मुक्ति मोर्चा बाग्मती प्रदेशको संयोजक छन् । उनीसँग पार्टीको विभिन्न पदमा रहेर काम गरेको अनुभव छ ।

नीलकण्ठ नगरपालिका– ७ का उनी ०५४ सालमा स्थानीय कर्णेश्वर निमाविमा अखिल क्रान्तिकारीका सदस्य थिए । ०५७र५८ सालमा नीलकण्ठ माविमा सहसचिव र कोषाध्यक्ष भएर काम गरे । २०५९ देखि काठमाडौंस्थित आरआर क्याम्पसबाट उच्च शिक्षा सुरु गरेका उनी अखिल क्रान्तिकारी क्याम्पस कमिटीको सदस्य भएर विद्यार्थी राजनीतिमा सक्रिय रहे । ०६१ मा तत्कालीन माओवादीको भ्रातृ संगठन ‘नेपाल स्वतन्त्र दलित विद्यार्थी संघ’को केन्द्रीय सदस्यसँगै पार्टीको पूर्णकालीन सदस्य भई क्रियाशील रहे । यसबीच पार्टीको विभिन्न जिम्मेवारीमा रहँदै १९ दिने जनआन्दोलनमा फ्रन्टलाइनमा रहेर जिम्मेवारी निभाए ।

२०६४ देखि पार्टीको जिल्ला कमिटी सदस्य, नेपाल दलित मुक्ति मोर्चाको धादिङ जिल्ला अध्यक्ष लगायत जिम्मेवारीमा रहे । राजनीतिमा मात्र नभई उनी सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन् । २०६४ देखि उनले नीलकण्ठमा ‘उज्यालो बहुउद्देश्यीय सहकारी संस्था’ सञ्चालन गरे । हाल उक्त सहकारी कृषिजन्य उत्पादनमा जिल्लाकै नमुना सहकारीको रूपमा परिचित छ ।

चुनाव भोट माग्दा ढुङ्गाना र विश्वकर्माको यस्ता थिए प्रतिबद्धता
समृद्ध नीलकण्ठ नगरको आधारः कृषि, पर्यटन, उद्धमशीलता सहितको पूर्वाधार, नीलकण्ठ नगरः देशकै नमुना पूर्वाधारयुक्त पर्यटकीय शहर निमार्ण
१. नीलकण्ठ नगरपालिकालाई देशकै नमूना पूर्वाधारयुक्त पर्यटकीय शहरको रुपमा विकास गर्ने ।
२. नगरको समग्र विकास ब्यवस्थापनका लागि एकीकृत नगरविकास योजना अनुरुप योजनाबद्ध विकास गर्ने ।
३. नगरको समग्र विकासमा नीति निर्माण र कार्यान्वयन सहजीकरण गर्न नीलकण्ठ नगर विकास प्राधिकरण गठन गरि व्यवस्थित र योजनाबद्ध विकास अभियान सञ्चालन गरिनेछ ।
४. आगामी ५ बर्ष भित्र नीलकण्ठ नगरपालिकाका वेरोजगार युवाहरुलाई मेयर उद्यमशिलता कार्यक्रम मार्फत अधिकतम रोजगारीको सृजना गर्ने र कम्तीमा ५ हजार युवाहरुलाई स्वरोजगार बनाउने ।
५. आगामी ५ बर्ष भित्र नगरपालिका का सवै वडा र वस्तीलाई बाह्रै महिना चल्ने गरि सडक सञ्जालले जोड्ने ।
६. विशेषज्ञ डाक्टर र अनुसन्धान सेवा सहितको शहरी स्वास्थ क्लिनिक सञ्चालन गर्ने र सवै वडाका स्वास्थ संस्थामा टेलिमेडिसिन सेवा मार्फत स्तरीय स्वास्थ उपचारको ब्यवस्था गर्ने ।
७. धादिङवेसी बजारलाई ब्यवस्थित, सफा र सुरक्षित नमुना बजारको रुपमा विकसित गर्ने ।
८. नीलकण्ठ नगरपालिकाको गौरवका आयोजनाका रुपमा रहेको ९५ किलोमिटर चक्रपथलाई हरितमार्गको रुपमा विकास गरिनेछ । धादिङवेसी करिडोर सडक लाई अगामी ५ बर्षमा स्तरबृद्धिका साथ पूर्णता दिइनेछ ।
९. सवै नगरबासीहरुलाई स्वास्थ् विमा मार्फत बार्षिक २ लाख बराबरको निशुल्क स्वास्थ्य उपचार सेवा उपलब्ध गराइनेछ ।
१०. धादिङवेसी बजारमा हाल स्वीकृत भैसकेको ४६ करोड बजेटलाई समायोजन गरी बृहत खानेपानी आयोजना सञ्चालन गर्ने । सबै वडामा एक घर एक धारा हुने गरी तिर्खामुक्त नगरको सपना साकार पार्ने । लिफ्टिङबाट सञ्चालित खानेपानी आयोजनामा विद्युत महशुल नगरपालिकाको तर्फबाट भुक्तान गर्ने व्यवस्था गर्ने ।
११. एक वडा एक नमूना श्रोत विद्यालय घोषणा गरी नगरपालिका भित्रका सवै विद्यालयहरुमा इन्टरनेट, सूचना प्रविधि र आवश्यक साधनश्रोत सम्पन्न बनाउँदै गुणस्तरीय शिक्षा प्रदान गरिनेछ ।
१२. नगरपालिका क्षेत्रमा कम्तिमा एउटा बहुप्राविधिक क्याम्पस सञ्चालन गर्ने । नीलकण्ठ बहुमुखी क्याम्पसलाई विशेष स्तरोन्नती गरी स्नातकोत्तर सम्मका सवै फ्याकल्टीका विषय अध्यापन गराउने क्याम्पसको रुपमा विकास गरी जेहन्दार विद्यार्थीहरुलाई आवासीय सुविधा समेत प्रदान गरिनेछ ।
१३. नगरपालिकालाई बालमैत्री नगर घोषणा गरि आवश्यक स्थानहरुमा वालविकास केन्द्र स्थापना गर्ने, पोषणयुक्त आहार सहित उचित स्याहार संरक्षण, र बृद्धि विकासको ब्यवस्था गरिनेछ ।
१४. दलित तथा विपन्न बर्गका बालबालिकाहरुको आधारभुत तह देखि उच्च शिक्षा सम्म निशुल्क छात्रवृत्ति, पोषण र संरक्षणको विशेष कार्यक्रम सञ्चालन गर्ने ।
१५. जेष्ठ नागरिकको सम्मानका लागि नगर स्तरीय संरक्षण केन्द्र र विश्राम पार्क निर्माण गरि सेवा प्रदान गरिनेछ । ७० बर्ष माथिका सवै जेष्ठ नागरिकको घर दैलोमा उपचार सेवा, निःशुल्क औषधी र भत्ताको ब्यवस्था गरिनेछ ।
१६. कृषि, पशु सेवा, खानेपानी, सिंचाइ, उद्योग व्यापारका लागि एकद्वार एकीकृत सेवा केन्द्र स्थापना गरिनेछ ।
१६. नीलकण्ठ नगरपालिकाका सवै बजार र बस्तीहरुमा स्तरीय इन्टरनेट सेवा, निशुल्क वाइफाइ जोन तथा टेलिसेन्टर स्थापना गर्ने। साथै एकीकृत शहरी सुरक्षा प्रणालीमा सूचना प्रविधिलाई जोड्दै सिसिटीभी तथा अनलाईन मार्फत सिटी सर्भिलेन्स परियोजना सञ्चालन
गर्ने ।
१७. नीलकण्ठ नगरपालिकालाई नमूना पर्यटकीय गन्तव्य नगरको रुपमा विकास गर्न पर्यटन मैत्री पूर्वाधारको प्रवर्धन गर्ने ।
१९. नगरपालिका क्षेत्रको उपयुक्त स्थानमा देशकै नमूना पर्यटकीय पार्क निर्माण गरी आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्ने ।
२०. नगर क्षेत्रमा होम स्टे संचालन सुरुभएको पात्ले गाउँ, वि।पी गाउँ र जुरेथुमलाई आवश्यक सहयोग गरि पर्यटक आकर्षित गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने र नगरपालिका क्षेत्रका अन्य सम्भावित गाउँहरुमा होम स्टे सञ्चालन गर्न आवश्यक सहयोग गर्ने । साथै भैरवी मन्दिर, बागेश्वरी मन्दिर, चमेरे गुफा, लामास्थान, चुलिदेवी लगायतका स्थललाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न आवश्यक पूर्वाधार विकास गरिनेछ ।
२१ नीलकण्ठ नगर क्षेत्रमा प्याराग्लाइडिङ, जीप फ्यायर, रक क्लाइम्बिङ जस्ता साहसिक पर्यटकीय खेलको प्रवर्धन गर्ने ।
२२. नगरका हरेक बस्तीहरुमा औद्योगिक कामका लागि समेत माग धान्ने गरि थ्री फेज लाइनको विद्युतीकरण तथा सौर्य उर्जा, वायोग्याँस तथा वैकल्पिक उर्जाको उचित प्रवर्धन गर्ने ।
२३. नीलकण्ठ नगरलाई खेलमैत्री नगरको रुपमा विकास गर्न खेलकुद रंगशाला तथा नमूना खेलकुद पाठशाला स्थापना गर्ने र
हरेक वडाहरुमा खेलकुद विकासका लागि खेलमैदान निर्माण आवश्यक खेल प्रशिक्षण केन्द्र स्थापना गर्ने । साथै विद्यालयहरुमा खेल पाठ्यक्रम र खेलकुद शिक्षकको ब्यवस्था गरिनेछ ।
२४. दलितहरुको परम्परागत पेशालाई व्यावसायीकरण गर्न आवश्यक आर्थिक सहयोग, अनुदान तथा थप तालिमको ब्यवस्था गर्ने ।
२५. नगरको समग्र सूचना आदान प्रदान तथा शिक्षा र मनोरञ्जनका लागि स्थानीय रेडियो, अनलाईन र पत्रपत्रिकामा नगर विशेष सामग्रीहरुको उत्पादन तथा प्रसारण प्रकाशन प्रवर्धन गर्ने र नगरक्षेत्रबाट प्रकाशित प्रसारित सञ्चार माध्यमलाई विशेष
साझेदारी अनुदानको ब्यवस्था गर्ने । पत्रकारहरुलाई लेखनबृत्ति तथा पुरस्कृत र आवश्यक सहयोग गरिनेछ ।
२६. महिला, दलित, अपांग, विपन्न, आदिवासी जनजाती, एकल महिलाहरुलाई राज्यले ग्यारेन्टी गरेको संवैधानिक अधिकार प्रदान गर्न उनीहरुको आवश्यकता र माग अनुसारको कार्यक्रम सञ्चालन गरिनेछ ।
२७. नगरकेन्द्र तथा वडा स्तरमा बैंकिङ सेवा तथा सहकारी संस्थाहरुको प्रवर्धन, संघ संस्था तथा क्लबहरु स्थापना तथा सहकार्य लाई अभिप्रेरित गरिनेछ ।
२८. नीलकण्ठ नगरक्षेत्रलाई वातावरणमैत्री नगर घोषणा गर्दै पर्यावरण संरक्षण, सामुदायिक तथा कबुलियती वन संरक्षण,वनमा आधारित आय आर्जन कार्यक्रम र हरियाली प्रवर्धन कार्यक्रमलाई सघन रुपमा सञ्चालन गरिनेछ । नगरक्षेत्रका नदी सरसफाई तथा पानीका मुहान संरक्षण कार्यलाई विशेष प्राथमिकता दिइनेछ ।
२९. नगरको फोहर व्यवस्थापनका लागि दीर्घकालीन समाधान हुने गरि योजनाबद्ध कार्यक्रम सञ्चालन गर्ने र फोहरमैला प्रशोधन तथा मल उत्पादन जस्ता व्यवसायिक कार्यक्रम सञ्चालन गरिनेछ । सरसफाई गुरुयोजना निमार्ण गरी सचेतना अभियान सञ्चालन तथा महत्वपूर्ण स्थलहरुमा सार्वजनिक शौचालय निर्माण गरिनेछ ।
३०. नगर स्तरमा नगर प्रहरीको परिचालन तथा अन्य सुरक्षा फोर्ससँगको समन्वयमा उचित सुरक्षा प्रवन्ध तथा सहायता कार्यक्रम सञ्चालन गरिनेछ ।
३१. वेरोजगार युवाहरुलाई नगरको विभिन्न विकास निर्माणमा स्वयंसेवीको रुपमा परिचालन गरी बेरोजगार भत्ताको समेत ब्यवस्था गरिनेछ ।
३२. धार्मिक स्वतन्त्रता र धर्म निरपेक्षताको संवैधानिक व्यवस्थालाई आत्मसात् गर्दै नीलकण्ठ नगरपालिका भित्रका सबै मठ मन्दिर, गुम्बा र चर्च ९मण्डली० को उचित संरक्षण तथा पून निर्माण गरिनेछ ।
३३. स्थानीय रैथानी बाली प्रवर्धन गर्न बिउ बैँक स्थापना सहित विशेष कार्यक्रम सञ्चालन गरी नगरलाई खाद्यान्न आपूर्तिमा आत्मनिर्भर बनाउदैँ निकाशीयोग्य वातावरण निर्माण गर्ने ।
३४. पठन संस्कृतिको विकास गर्न नगर क्षेत्रमा सार्वजनिक पुस्तकालय, अध्ययन केन्द्र तथा इ–लर्निङ सेन्टर स्थापना गरी अध्ययन अनुसन्धान र प्राज्ञिक गतिविधिलाई प्रोत्साहन गरिनेछ ।
३५. नगरपालिका क्षेत्रभित्रका जग्गाहरुको माटो परीक्षण गरी विभिन्न बालीहरुको पकेट क्षेत्र घोषणाका साथ व्यवसायिक कृषि प्रवर्धनका लागि किसानहरुलाई अनुदान, कृषि उद्यमका लागि लिएको घर जग्गा भाडामा करछुट तथा सहुलियत ऋणको प्रवर्धन गर्ने ।
३६. कृषि को व्यवसायीकरण, बजारीकरणका लागि संकलन केन्द्र, शितभण्डारण केन्द्र निर्माण गरिनेछ । कृषियोग्य जग्गाको गैरकृषिजन्य उपयोग, प्लटिङ र खण्डिकरण पूर्णतया रोकी प्रभावकारी व्यवस्थापन गर्ने ।
३७. उन्नत किसान प्रोत्साहन तथा पुरस्कृत गर्ने योजना सहित किसानहरुका लागि उन्नत खेती र पशुपालनमा आर्थिक अनुदानको व्यवस्था गरि व्यवसायिक कृषिको विकास गरिनेछ ।
३८. सम्पूर्ण सार्वजनिक तथा सरकारी सेवा प्रदायक निकायहरुलाई लैङ्गिक भेदभावमुक्त स्थालका रुपमा घोषणा गर्ने ।
३९. प्रकोप न्यूनिकरण, पूर्व तयारी, राहत, उद्धार पुनस्र्थापना जस्ता प्रत्येक चरणका आपतकालीन कार्य सञ्चालन केन्द्रलाई सशक्त बनाउँदै विपद् ब्यवस्थापनमा अन्य स्थानीय तहका लागि समेत नमुना बन्ने गरि विपद् श्रोत केन्द्र स्थापना गरिनेछ ।
४०. रामकोट दरवार, पौवा दरवार, ज्याम्रुङ दरबार, धुवाँकोट, भैरवीकोट, लामास्थान लगायतका पुरातात्विक सम्पदाहरुको खोज र उत्खनन गरी परम्परागत स्वरुपमा निर्माण अभियान सञ्चालन गरिनेछ ।
४१. नगरवासीको माग र चाहना अनुसारका आवश्यक विकास निर्माण तथा सहायताका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
४२. स्थानीय सरकार सञ्चालनका लागि करको दायरा बढाउँदै, जनउत्तरदायी, भ्रष्टाचारमुक्त स्थानीय प्रशासन सञ्चालन गर्ने ।
४३. नगर क्षेत्रमा कला संस्कृतिको विकास तथा प्रवर्धनका लागि नीलकण्ठ प्रज्ञा प्रतिष्ठान मार्फत विभिन्न साहित्यिक, सांस्कृतिक जातीय तथा धार्मिक र सम्प्रदायका कला संस्कृतिको खोज, अध्ययन र संरक्षण, संग्राहलय निर्माण लगायतका योजना सञ्चालन गरिनेछ ।
४४. नगरका विभिन्न टोल र वस्तीमा गठित टोल विकास संस्थाहरुलार्ई नगरपालिकाको अभिन्न इकाइको रुपमा स्वीकार गरि सहकार्यमा विभिन्न विकास तथा सचेतना कार्यक्रम सञ्चालन गर्ने ।
४५. विचारमा विविधता विकासमा एकता को शुत्रलाई आत्मसाथ गर्दै नगरविकास का लागि विभिन्न राजनीतिक दल तथा नागरिक समाजले अघिसारेका राम्रा योजनाहरुलाई अनुसरण गर्दै नगरविकास कार्यक्रममा समावेश गर्ने ।