धादिङमा अनलाइन ठगी बढ्दो: एक वर्षमै ११४ जनाको उजुरी, ह्वाट्सएप र इसेवा–खल्तीबाट सबैभन्दा धेरै ठगी

Avatar photo
Dhadingpost
साउन ६, २०८३

धादिङ । धादिङमा अनलाइन ठगीका घटना तीव्र रूपमा बढिरहेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा मात्रै ११४ जनाले अनलाइन ठगीमा परेको भन्दै उजुरी दिएका छन् । यो संख्या अघिल्ला दुई आर्थिक वर्षको तुलनामा उल्लेखनीय रूपमा बढी हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश दाहालका अनुसार उजुरी दिनेहरूमध्ये ह्वाट्सएपमार्फत ठगिएका ४५ जना, इसेवा/खल्तीमार्फत ४४ जना, टिकटकमार्फत १५ जनाफेसबुकमार्फत १० जना रहेका छन् । पीडितमध्ये २७ जना महिला, ८५ जना पुरुष र २ जना बालक रहेका छन् ।

तथ्यांकअनुसार धादिङमा अनलाइन ठगीका उजुरी वर्षेनी बढिरहेका छन् । आर्थिक वर्ष २०८०/०८१ मा २० जना (१० महिला र १० पुरुष) ले उजुरी दिएका थिए । २०८१/०८२ मा यो संख्या बढेर ३७ जना (१८ महिला र १९ पुरुष) पुगेको थियो भने २०८२/०८३ मा एकै वर्ष ११४ जना पुगेका छन् । यसले साइबर अपराधको जोखिम तीव्र रूपमा बढ्दै गएको संकेत गरेको प्रहरीको भनाइ छ ।

ह्वाट्सएप र डिजिटल वालेटबाट बढी ठगी

प्रहरीका अनुसार पछिल्लो समय ह्वाट्सएपमा विदेशी नम्बरबाट सम्पर्क गरी घरमै बसेर धेरै आम्दानी हुने, लाइक तथा रेटिङ गरेर पैसा कमाउने, लगानी गरे दोब्बर आम्दानी हुने जस्ता प्रलोभन देखाएर ठगी गर्ने प्रवृत्ति बढेको छ ।

त्यस्तै इसेवा र खल्ती जस्ता डिजिटल वालेट प्रयोगकर्तालाई केवाईसी (KYC) अपडेट, खाता ब्लक हुने, लटरी परेको, रिफन्ड पाइने वा भुक्तानी प्राप्त गर्न ओटीपी (OTP) दिनुपर्ने भन्दै झुक्याएर रकम चोरी गर्ने घटनासमेत बढिरहेका छन् ।

फेसबुक र टिकटकमा नक्कली प्रोफाइल, फेक अनलाइन सपिङ पेज, सस्तो मूल्यमा सामान बिक्रीको विज्ञापन, वैदेशिक रोजगारी तथा लगानीको प्रलोभन देखाएर समेत सर्वसाधारणलाई ठग्ने गरिएको प्रहरीले जनाएको छ ।

किन बढ्दै छ अनलाइन ठगी ?

विशेषज्ञहरूका अनुसार नेपालमा डिजिटल भुक्तानी र सामाजिक सञ्जालको प्रयोग तीव्र रूपमा बढे पनि साइबर सुरक्षासम्बन्धी जनचेतना सोही अनुपातमा बढ्न नसक्दा अनलाइन ठगीका घटना बढिरहेका छन् ।

अनलाइन ठगी बढ्नुका मुख्य कारणहरू:

  • डिजिटल वालेट र मोबाइल बैंकिङको बढ्दो प्रयोग
  • सामाजिक सञ्जालमार्फत अपरिचित व्यक्तिसँग सजिलै सम्पर्क हुने अवस्था
  • सजिलै धेरै आम्दानी हुने प्रलोभनमा विश्वास गर्ने प्रवृत्ति
  • ओटीपी, पासवर्ड र व्यक्तिगत विवरण साझा गर्ने लापरवाही
  • नक्कली वेबसाइट, फेक फेसबुक पेज र ह्वाट्सएप स्क्यामको विस्तार
  • साइबर सुरक्षाबारे पर्याप्त जनचेतनाको अभाव

प्रहरीले के भन्छ ?

डीएसपी प्रकाश दाहालले अपरिचित व्यक्तिले पठाएको लिंक नखोल्न, ओटीपी, पासवर्ड, बैंक विवरण वा डिजिटल वालेटको गोप्य जानकारी कसैलाई पनि नदिन र कुनै पनि शंकास्पद गतिविधि देखिए तत्काल प्रहरीलाई जानकारी गराउन आग्रह गरेका छन् ।

उनका अनुसार साइबर अपराध प्रमाणित भएमा विद्युतीय कारोबार ऐन, २०६३ अनुसार मुद्दा दर्ता गरी कानुनी कारबाही अघि बढाइन्छ । उक्त ऐनअनुसार कसूरदारलाई ५ वर्षसम्म कैद, १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।